भारतबाट कोरोना खोप निर्यात ठप्प

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, ०८ : ४६
भारतबाट कोरोना खोप निर्यात ठप्प

काठमाडौं ।भारतले कोरोना खोप निर्यातमा बन्देज लगाएको औपचारिक घोषणा गरेको छैन । तर, उसले आन्तरिक माग पूरा गर्नु आफ्नो प्राथमिकता भएको भन्दै निर्यात ठप्प पारेको छ ।भारत सरकारको यही नीतिका कारण नेपाललगायत धेरै मुलुकले अग्रिम भुक्तानी गरिसके पनि खोप अझै प्राप्त गर्न सकेका छैनन् ।

खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट र भारतीय अधिकारीसँग नेपाल खोपको विषयमा निरन्तर संवादमा छ । भारतले अप्रिलको अन्तिम सातासम्म खोप पठाउन सकिने जानकारी गराएको छ ।

नेपालले सेरमसँग २० लाख खोप खरीद सम्झौता गरेको थियो, त्यसमध्ये १० लाख आइसकेको छ भने १० लाख आउन बाँकी छ । १० लाख खोप चाहिं भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

विश्वकै ठूलो खोप उत्पादक कम्पनी सेरम यतिवेला दोहोरो दबाबमा छ । एकातिर सम्झौता गरेका मुलुकले सकेसम्म छिटो खोप उपलब्ध गराउन दबाब दिइरहेका छन् भने अर्कोतर्फ भारत सरकारले केही समय खोप निर्यात नगर्न भनेको छ।

सेरमसँग विश्वका ९० भन्दा बढी मुलुक खोपका लागि निर्भर छन् । संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरमले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप ‘कोभिशिल्ड’ उत्पादन गरिरहेको छ ।

सेरमले उत्पादन गरेको खोप व्यापारमा भारतीय विदेश मन्त्रालयको बलियो नियन्त्रण छ । मन्त्रालयको स्वीकृति विना उसले आफैंले सम्झौता गरेको मुलुकलाई समेत खोप दिन सक्दैन ।

वैदेशिक व्यापार नीतिको प्रावधान अनुसार भारतले आन्तरिक माग पूरा गर्न कुनै पनि व्यापारजन्य उत्पादनको निर्यातमा रोक लगाउन सक्छ । तर, सो प्रतिबन्धबारे उसले औपचारिक घोषणा भने गरेको छैन ।

भारतीय विदेश मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार उसले अहिलेसम्म ९० मुलुकलाई अनुदान र व्यापारिक रूपमा खोप उपलब्ध गराइसकेको छ । भारतले ल्याटिन अमेरिका, क्यारेबियन, एशिया  देशलाई खोप उपलब्ध गराएको छ । साथै बेलायत, क्यानडा, ब्राजिल र मेक्सिकोलाई पनि भारतले कोभिशिल्ड र कोभ्याक्स दुवै खोप उपलब्ध गराएको छ । भारतले अनुदानमा उपलब्ध गराउने काम जारी राखे पनि व्यापारिक निर्यातमा भने रोक लगाएको छ ।

सो बन्देज मार्च र अप्रिल महीनाका लागि मात्र लगाइएको र त्यसपछि नियमित हुने सरकारी अधिकारीले बताएका छन् । पछिल्लो साता भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै आन्तरिक माग बढेको भन्दै भारतले निर्यातलाई निरुत्साहित गरेको हो ।

उता भारत सरकार भने आन्तरिक दबाबमा छ । देशभित्रै खोपको व्यापक माग बढिरहेको समयमा अन्य देशलाई खोप दिएको भनी इन्डियन नेशनल कंग्रेससहित विभिन्न राजनीतिक दलले सरकारको विरोध गरिरहेका छन् ।


 

प्रतिक्रिया दिनुहोस