म्याग्दी । न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रंभावित भएको छ । विसं २०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा हुनुभएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो ।
रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक महिनादेखि न्यायाधीशविहीन बनेको हो । रेग्मीको ठाउँमा सर्वोच्चले जनकपुर जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेललाई म्याग्दीमा सरुवा गरेको थियो । मुद्दाको सुनुवाइ, फैसला, मिलापत्रलगायतका सेवा रोकिएको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार भेषराज पौडेलले बताए ।
“मुद्दाको पुनरावेदन गर्ने अधिकार स्रेस्तेदारलाई भए पनि पुनःविचार गर्ने अधिकार न्यायाधीशलाई मात्र हुन्छ,” उनले भने, “मुद्दाको पुनःविचार गर्ने न्यायाधीश नहुँदा केही बन्दी बढी समय हिरासत र कारागारमा बस्नुपरेको छ ।”
कानून व्यवसायी चिरञ्जीवी शर्माले न्यायाधीश नहुँदा नागरिकको मौलिक अधिकारसँग जोडिएको न्याय सेवा प्रभावित भएको बताए । सबैभन्दा बढी वैदेशिक रोजगार प्रयोजनका लागि अदालतमा विवाह र सम्बन्धविच्छेद गर्ने प्रभावित भएका छन् । जापान, अस्टेलिया, अमेरिकालगायत देशमा आश्रित भिसामा जानका लागि कागजी प्रक्रिया पूरा गर्न अदालतमा विवाह र सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ ।
जनकपुर अदालतमा न्यायाधीश पौडेलले हेरेका मुद्दा टुङ्गो लगाउनुपर्ने र फैसला भएका मुद्दाको पूर्णपाठ तयार पार्न समय लाग्ने भएकाले म्याग्दी आउन ढिलाइ भएको श्रेस्तेदार पौडेलले बताए । मुद्दाको पूर्णपाठ तयार पार्न २१ दिन र सरुवा भएको ठाउँमा पुग्न बाटोको म्याद सात दिनको हुन्छ । न्यायाधीश पौडेल वैशाख ६ गते म्याग्दी आउने तयारी गरेको अदालतले जनाएको छ ।
म्याग्दी जिल्ला अदालतमा चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत महिनासम्म २२६ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षबाट १५३ वटा मुद्दाको जिम्मेवारी सरेर आएका थिए । १७५ वटा मुद्दाको फैसला भएको छ ।
यसैगरी अदालतले विभिन्न समयमा गरेको फैसला अनुसार रु पाँच करोड ४३ लाख २८ हजार ४२७ जरिवाना र ७५० वर्ष तीन महिना २६ दिन कैद सजाय असूल उपर गर्न बाँकी छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेको रु ९५ लाख २४ हजार ३४९ र यस वर्ष थपिएको रु आठ करोड १४ लाख ४६ हजार ६८३ मध्ये रु तीन करोड ६६ लाख ४४ हजार ६०५ असूल उपर भएको छ ।
जिम्मेवारी सरेर आएको रु पाँच लाख ६२ हजार ६४ र यो आर्थिक वर्षको रु तीन करोड ६० लाख ८२ हजार ५४१ असूल भएको हो । नौ महिनाको अवधिमा २३५ वर्ष ११ महिना १ दिन कैद सजाय फस्छौट भएको अदालतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ बैशाख २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान
४३ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान (सूचना सहित)
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
उच्च अदालतमा नवनियुक्त ३९ न्यायाधीशको शपथ हुँदै
सर्वोच्चका ६ न्यायाधीशको शपथग्रहण आज
संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन