अग्रगामी क्रान्तिकारी बाम एक्यवद्धताका लागि नयाँ वर्षमा प्रचण्डको अपील

सफल खबर संवाददाता

बुधबार, ०१ बैशाख २०७८, ०७ : ०१
अग्रगामी क्रान्तिकारी बाम एक्यवद्धताका लागि नयाँ वर्षमा प्रचण्डको अपील

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई उठाउन अग्रगामी क्रान्तिकारी वाम एक्यवद्धताको अपिल गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गदैं प्रचण्डले प्रतिगामी कदम विरुद्ध संघर्षरत सबै पक्षहरुलाई संघर्षका निम्ति मोर्चा बनाई एकतावद्ध पहलकदमी लिन र नयाँ सरकार निर्माणका लागि एकजुट हुन आव्हान पनि गरेका हुन् । 

प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, 

दुई ठूला कम्युनिष्ट पार्टीहरु बीचको एकताबाट निर्माण हुने शक्तिले देशलाई नेतृत्व गर्ने, जनतालाई सामाजिक न्याय र आत्मसम्मान दिने र राष्ट्रिय एकता कायम गर्दै विकास, निर्माण र उत्पादन वृद्धिको अभियान चलाउने भन्ने हामीले सपना देखेका थियौं । नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दुरगामी सोचका कारण कम्युनिष्ट पार्टीहरु बीच एकता कायम भएको हो ।

कम्युनिष्ट पार्टी बीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरुले षडयन्त्रमूलक ढंगले विभाजन गरे । प्रतिगामी प्रतिक्रियावादीको त्यस प्रकारको षडयन्त्रलाई निस्तेज गर्न कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धताका लागि हार्दिक अपील गर्दछु । 

प्रचण्डले नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायू र समृद्धिको हार्दिक शुभकामना व्यक्त गदैं नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्ति विरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास ब्यक्त गरेका छन् । 


प्रतिक्रियावादी षडयन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको प्रचण्डको ठहर छ । प्रतिगामी कदम विरुद्ध संघर्षरत सबै पक्षहरुलाई संघर्षका निम्ति मोर्चा बनाई एकतावद्ध पहलकदमीका साथ नयाँ सरकार निर्माणका लागि एकजुट हुन आव्हान पनि गर्दछु । प्रचण्डले भनेका छन् । 

अबको हाम्रो समाजवाद कस्तो हुने,  यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ दिनुपर्ने भन्दै प्रचण्डले वर्ग संघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोग जस्ता समाज विकासका नियमहरुलाई आत्मसाथ गर्दै बिचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ ।

कृषि, उद्योग र अन्य व्यवसायलाई समाजवादी स्वरुप दिने भन्ने योजना र अभियान सञ्चालन गर्दै सूचनाप्रविधिमा आएको विकासलाई उत्पादन र वर्गसंघर्षका निम्ति व्यवहारिक प्रयोग गर्ने सोच र संस्कृति नेपाली मौलिक समाजवादको आधार बन्न सक्ने बताएका छन् । 

नयाँ वर्षले नेपाली मौलिकता सहितको समाजवादको लक्ष्यमा नयाँ उत्साह, उमंग र हौसलाका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्दै विभिन्न समुदायमा रहेका सम्पूर्ण नेपाली जनसमुदायबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धिको शुभेच्छा पनि प्रचण्डले ब्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस