काठमाडौँ । सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भित्री लाइन निर्वाचनमै जाने देखिएको छ । तत्काल चुनावमा जानका लागि तीन दलीय गठबन्धनको सरकार बन्न नदिन जसपाका ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले भूमिका खेलिरहेको छ ।
ठाकुर र महतो मुद्दाका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिन्छन् । चुनावमा जाने सबालमा यो पक्षको रणनीतिक योजना प्रधानमन्त्री ओलीका साथै कांग्रेस सभापति देउवासँग पनि मिल्छ ।
कांग्रेसले चैत २१ गते आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो । त्यस्तो निर्णय गराउने पक्षमा देउवा थिएनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको दबाबले उनी बाध्यतामा परेका हुन् । पार्टीको निर्णयपछि पनि देउवा केही दिन ढुक्कले बसे ।
सरकार निर्माणमा पहल नगरेको भनेर आलोचना भएपछि उनले शुक्रबार माओवादी केन्द्र र जसपासहितको बैठक डाके । कांग्रेस नेतृत्वमा सरकार बनाउन देउवाले औपचारिक रूपमा प्रस्ताव पनि गरे । माओवादी केन्द्रले सजिलै स्विकारे पनि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले मानेनन् । कांग्रेसका एक नेताका अनुसार ठाकुर र महतो सरकार निर्माणमा सामेल हुन्छन् भन्नेमा सुरुदेखि नै देउवालाई विश्वास थिएन । पौडेल र सिटौलाको दबाब मत्थर बनाउन मात्र उनले तीन दलको बैठक डाकेका हुन् ।
आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसबाट प्रस्ताव आएपछि पार्टीमा आन्तरिक छलफल गरेर निर्णय दिने भनी निस्केका ठाकुर र महतोले आइतबार पाँच सदस्यीय पदाधिकारी बैठकमा संसद्को एजेन्डा नबनेसम्म सरकारबारे पार्टीले औपचारिक निर्णय लिन नहुने अड्डी कसे ।
यसको अर्थ संसद्मा अविश्वासको प्रस्ताव पेस वा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै जसपाले औपचारिक निर्णय गर्छ भन्ने हो । अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भने तत्काल निर्णय लिनुपर्ने अडानमा थिए ।
यादव र भट्टराईले सुरुदेखि यस्तो अडान राखे पनि ठाकुर र महतोको फरक विचार तथा दृष्टिकोणका कारण जसपाले आइतबार कुनै निर्णय लिन सकेन । फेरि बैठक बस्ने भनिए पनि जसपाले सत्ता समीकरणका विषयमा तत्काल एकमतका साथ धारणा अघि सार्ने सम्भावना कम छ ।
कांग्रेसले पनि आइतबार पदाधिकारी बैठक राखेको थियो । देउवा र पौडेल दुवै अनुपस्थित बैठकमा पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यतालिकाका विषयमा मात्रै छलफल भयो । जसपा अनिर्णीत हुँदा वैकल्पिक सरकार बन्ने सम्भावना रहँदैन । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल