विद्यालय बन्द नगरी संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउँ : प्याब्सन

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०७७, १३ : १६
विद्यालय बन्द नगरी संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउँ : प्याब्सन

काठमाडौं । देशभर कोरोनाभाइरसको संक्रमणको दोस्रो बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा विद्यालय बन्द नगरी बरु संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ ।विगतको बन्दाबन्दी पश्चात विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्यढाँचा अनुसार  शिक्षालयहरूका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको उल्लेख गरिएको छ ।

‘आवश्यकता अनुसार शिक्षालयहरूमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयहरूमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ । 

सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न पनि प्याब्सनले सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको  छ । 

कोरोनाको दोस्रो लहरले १८ वर्ष मुनिका बालबालिकाहरु समेत प्रभावित हुन सक्ने पुष्टि भइरहँदा र बालबालिकाहरुका लागि भ्याक्सिनको परीक्षण समेत भइनसकेको सन्दर्भमा उक्त समूहलाई संक्रमित हुनबाट जोगाइराख्न अपनाउनु पर्ने स्वास्थ्य सावधानीका सन्दर्भमा आफूहरु अत्यन्त गम्भीर रहेको पनि प्याब्सनले भनेको छ । 

प्रतिक्रिया दिनुहोस