सोमालियाको विस्फोटमा पाँचको मृत्यु

रासस

आइतबार, २९ चैत्र २०७७, १३ : ०९
सोमालियाको विस्फोटमा पाँचको मृत्यु

मोगादिशु । अफ्रिकी मुलुक सोमालियाको बाइडाओ शहरमा शनिबार एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार, सुएज क्याफ्टेरियाको बाहिर रहेका बे क्षेत्रका गभर्नर अलि वारधरलाई लक्षित गरी उक्त आक्रमण भएको हो । यद्यपी, विस्फोटबाट उहाँ भने सुरक्षित रहेका छन् । प्रहरीले वारधरका कम्तीमा दुई जना अंगरक्षक घाइते भएको जनाएको छ । 

प्रत्यक्षदर्शी अमिन म्याडीले निकै शक्तिशाली देखिएको उक्त बिस्फोटको आवाज शहरका सबैजसो ठाउँमा सुनिएको र मानिसलाई आतंकित बनाएको बताए । 

आतंकवादी संगठन अल–कायदा समर्थित अल–शबाबले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । यस संगठनले अफ्रिकी मुलुकहरुमा इस्लामिक शासन स्थापना गर्ने भन्दै सशस्त्र हिंसात्मक आन्दोलन गर्दै आएको छ ।

प्रहरीले उक्त घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । यसैबीच, मोगादिशुको हुरिआ जिल्लामा गरिएको बम बिस्फोटमा परेर एक सैनिकको मृत्यु हुनुका साथै केही व्यक्ति घाइते भएका छन् ।

सोमालियामा सुरक्षा कमजोरी व्यापक रहेको भन्दै स्थानीयवासी चिन्तित हुन थालेका छन् । यसै वर्षको शुरुमा गरिने भनिएको आमनिर्वाचनमा ढिलाई भएकाले पनि समस्या अरु बढ्दै गएको छ । (एपी)