काठमाडौं । नेपाली काँग्रेसले पछिल्लोे तीन वर्षदेखि प्रमुख प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसकेको तथ्य कोही कसैबाट छिपेको छैन । प्रधानमन्त्री केपी ओलीले जे जस्ता मनलाग्दी हर्कत गरेपनि किन सिमित स्वार्थका पछाडि काँग्रेस लागिपरेको छ । यसको विष्लेशन काँग्रेसकै आम कार्यकर्ताले गर्न थालेका छन् । आफ्नो पार्टीको अस्तित्व नै लोकतन्त्र, गणतन्त्र भएको दुहाई दिन काँग्रेसका पदाधिकारी किन यतिबेला चुप लागेर बसेका छन् ।
जनताको जनजिवीकाको पक्षमा काँग्रेसले जबरजस्त आफना एजेण्डा स्थापित गराउन सक्थ्यो । जनतालाई केन्द्रमा राखेर सबै प्रकारका राजनीतिक एजेण्डा समेत अगाडि बढाउन सक्थ्यो । जनतालाई विश्वासमा लिन के कसो गर्नुपर्ने हो काँग्रेसका तर्फबाट हुनुपर्ने थियो । तर, काँग्रेसले कुनै पनि प्रयास गर्न सकेन । काँग्रेसलाई एकाध थान राजदूत, एकाध स्थानमा राजनीतिक नियुक्ति दिलाइदिन भन्दै सभापति नै आएपछि ओलीलाई पनि हाइसन्चो नै भएको छ । किनकी धुत्याईमा सिपालु रहेका ओलीले काँग्रेसलाई आश्वासनकै भरमा प्रतिगमनको खास मस्कद पूरा गरेका हुन् । पछिल्लो पटक काँग्रेस ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो सम्बन्धी निर्णय समेत केन्द्रीय समितिबाट गराएको छ ।
प्रमुख प्रतिपक्षी भनेकै खासमा प्रतिक्षारत सरकार हो । काँग्रेसले जनताका हरेक विषयमा आफूलाई अपडेट गरेर अगाडि जानुपर्ने थियो । तर, आफ्नो राजदूत नहटाइदिन आग्रह गर्दै बालुवाटार जाने प्रवृत्ति, एकाध जनालाई केही संवैधानिक नियुक्ति गराउने भन्ने सभापतिको व्यवहारका कारण ओलीले कोही कसैलाई पनि टेर्नुपर्छ भन्ने मान्यता राख्न छाडेका छन् । काँग्रेस भित्र पनि परिवर्तनको महान प्रक्रियामा सहभागी हुने योद्धाहरु छन् । बौद्धिक एवम् प्राविधिक क्षेत्रका आम जानकार पनि छन् । उनीहरुलाई अगाडि सारेर जनताको पक्षमा माहोल बनाउने तथा आन्दोलित गर्ने दायित्वबाट काँग्रेस विमुख भएको छ ।
ओलीको ज्यादतीविरुद्ध लड्न पनि सोही प्रकारको नैतिक बल चाहिन्छ । नैतिक बल त्यस्तो शक्ति हो, जसले ठूला ठूला तानाशाह भनिएकालाई समेत घोडाबाट झार्ने ल्याकत राख्दछ । काँग्रेसले त्यस्तो खालको ल्याकत राख्नेतर्फ कुनै प्रयास नै गर्न सकेको छैन । सधै अनिश्चियको भुमरीमा फस्ने, कुनै योजना तथा कार्यक्रमविहिन अवस्थामा काँग्रेस रहेको छ । राजनीतिक रुपमा कुनै पनि कार्यसूचीका आधारमा मात्रै पार्टी चल्छ । काँग्रेसमा त्यस्तो खालको कुनै पनि कार्यसूची भएको देखिदैन । किनकी सभापति शेरबहादुर देउवालाई कुनै पनि मतदाताको पक्षमा काम गर्नु नै छैन । उनलाई आफना मानिसहरु जोगाउनुछ । पार्टी भन्दा पनि आफनो समूह जोगाउनु छ । सोही कारण काँग्रेस सरकार विरुद्ध आक्रामक रुपमा अगाडि बढ्न सकेको छैन ।
पार्टी नेतृत्वमा रहेको दिशाहिनता, अर्कमण्यता तथा तदर्थवादका कारण पनि मुलुकको राजनीतिले कोल्टे फेर्न सकेको छैन । विगतमा माओवादीसँग शान्ति सम्झौता गर्ने काँग्रेस नै थियो । संविधान निर्माण प्रक्रियाको नेतृत्व गर्ने समेत काँग्रेस नै थियो । तर, आज राजनीतिमा पर फालिएको कुनै काम नलाग्ने वस्तु जस्तो गरी संविधान समेत कुल्चिदा काँग्रेस केवल प्रतिक्रियामा रमाएको छ । कुनै पनि ठोस निर्णय गर्न नसक्ने गतिहिनि अवस्थामा काँग्रेस किन पुग्यो भन्ने चिन्ता र चासो आम जनमानसमा देखिएको छ ।
विशेष गरी भारतीय खुफिया एजेन्सीको कालो छाँयाका काँग्रेसको घरभित्र परेको छ । सोही कारण उसले कुनै पनि राजनीतिक मुद्दामा नेतृत्व गर्न सक्दैन । विशेषतः पछिल्ला दिनमा ओली र बालुवाटारले काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणालाई २ अर्ब बढी रकमको स्रोत नखुलेको भन्दै सम्पत्ति शुसिद्धकरण विभागले कारवाहीको तयारी गरेको भन्ने हल्ला चलाइएको छ । सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको छ । विजयकुमार गच्छदार जो उपसभापति थिए । उनी ललिता निवास प्रकरणमा मुछिएका छन् । उनलाई पक्राउ गर्ने तयारीमा सरकार रहेको छ ।
भ्रष्टाचारको मुद्दामा गच्छदारलाई फसाएर काँग्रेसलाई थ्रेट गर्ने योजनामा बालुवाटार रहेको छ । सोही कारण पनि प्रष्ट निर्णय गर्न काँग्रेस डराएको छ । किनकी काँग्रेस भित्र कुै पनि प्रकारको नैतिक धरातल रहेको छैन । प्राय जसो नेता तथा कार्यकर्ता अनियमित काममा जोडिएका छन् । प्रजातान्त्रिक मूल्य तथा मान्यता समेत भेटन मुस्किल रहेको छ । अराजकताको घरको रुपमा काँग्रेस परिचित छ र स्थापित छ भन्दा कुनै गुनासो गर्नुपर्ने ठाँउ नै छैन ।
काँग्रेस यसरी तर्दथवादमा रहन सक्दैन भन्दै युवा नेताहरु गगन कुमार थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङहरुले पटक पटक सार्वजनिक मञ्चमार्फत आफनो धारणा सार्वजनिक गर्दै आएका छन् । तर, उनीहरुको भनाईलाई पार्टी नेतृत्वले कुनै पनि सुनुवाई गरेको छैन । किनकी, नयाँ विचार, कार्यक्रम, योजना, कार्यसूची तयार कसले कसरी गर्ने हो भन्नेमा नेतृत्व नै दुविधामा रहेको छ ।
पूरानो पुस्ताबाट न त काँग्रेस अगाडि जानसक्छ , न त कुनै पनि राजनीतिक आन्दोनको लक्ष्य पूरा हुन सक्छ । त्यसकारण पनि खुफिया एजेन्सीको उम्मेदवार होइन, खास अर्थमा जनताको सेवकका रुपमा काँग्रेस पुनः एकपटक जागृह भएर मैदानमा खडा हुनु जरुरी छ । अन्यथा, प्रतिगमनले सबै आन्दोलनबाट स्थापित गरेको मूल्य तथा मान्यतालाई खारेज गर्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०७७, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै