यस वर्षको अन्तिम रातमा कुटुम्ब गुञ्जिनेछ चितवनमा

विहीबार, १५ चैत्र २०७४, १३ : १९
यस वर्षको अन्तिम रातमा कुटुम्ब गुञ्जिनेछ चितवनमा

चितवन । नेपाली मौलिक बाजाहरुको साँगीतिक प्रस्तुतिका लागि नेपालमा मात्र नभई विश्वमै चर्चित कुटुम्ब ब्याण्डले यस वर्षको अन्तिम रातमा चितवनमा आफ्ना चर्चित सुमधुर संगीत पस्कने भएको छ ।
चितवनको देवनगरस्थित लेक ट्वाण्टी थाउजेण्ड फार्म रिट्रिटमा चैत ३० गते साँझदेखि मध्यरातसम्म हुने कुटुम्ब न्यू इयर इभ कार्यक्रममा कुटुम्बले आफ्नो प्रस्तुति दिने भएको हो ।
कार्यक्रमको आयोजना कली इण्टरटेण्मेण्ट एण्ड इभेण्ट म्यानेजमेण्ट र रञ्जना फाउण्डेसन गीतानगरले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रमबारे आज बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रवेश शुल्क एक हजार रुपैयाँ तोकिएको कली इण्टरटेण्मेण्टका सुरजबहादुर गोदारले बताउनु भयो । कार्यक्रमबाट संकलित रकममध्ये एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री र झुल सुकुम्बासी बस्तीमा वितरण गरिने रञ्जना फाउण्डेसनका संस्थापक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा रामपुरको ब्रोहुड ब्याण्डले पनि आफ्नो प्रस्तुति दिने बताइएको छ । साँझ पाँच बजेबाट सुरु हुने कार्यक्रम मध्यरातसम्म चल्नेछ । कुटुम्बबाट राजु महर्जन लगायतको टोलीले नेपाली गीत संगीतका सुमधुर धुन पस्कने छन् ।

प्रतिक्रिया दिनुहोस