नेपाल र जापानको सम्बन्ध ऐतिहासिक

विहीबार, १५ चैत्र २०७४, १२ : १८
नेपाल र जापानको सम्बन्ध ऐतिहासिक

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल र जापानको कला र संस्कृतिको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ ।

नेपाल कल्चर एक्सचेन्ज एशोसिएसनद्वारा आज यहाँ आयोजित नेपाली तथा जापानीज कलाकारको सांस्कृतिक प्रस्तुति आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक संस्कार मिल्दोजुल्दो भएको चर्चा गर्नुभयो ।

संस्कृतिविद् जोशीले विशेष गरी बौद्ध धर्मावलम्बीको मन्त्र जापानसँग मिल्ने गरेको भन्दै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएर लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोजक एशोसिएसनका महाप्रबन्धक राजेश थापाले लामो समयदेखिको नेपाल र जापानको सम्बन्धलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा जापानी गायिका सुन्दरी मिकाले नेपाली तथा जापानी गीतको प्रस्तुति दिनुभएको थियो । त्यस्तै सोही कार्यक्रममा जापानी ओवारा नाच, कौरा नाच, चर्या नाच, नेवारी नाच, हुड्केली नाच, तामाङ सेलो, बाँसुरी वादनलगायतको प्रस्तुति आदानप्रदान गरिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस