विवादास्पद सूचना प्रविधि विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस हुँदै

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, ०८ : २८
विवादास्पद सूचना प्रविधि विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभामा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन पेस हुने भएको छ ।संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

१३ पुस २०७६ मा संसदको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसको फरक मतका बाबजुद सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो । समितिबाट विधेयक पारित भए लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ती निकालेर उक्त विधेयक सच्याउन माग गरेका थिए ।

तर, संसदमा पेस हुन लागेको विधेयकको प्रतिवेदनमा कांग्रेसको फरक मत समेटिएको छैन । ‘समितिबाट जे पारित भयो त्यही संसदमा पेस हुन्छ । सच्याउने हो भने हाउसमै बहस होला,’ विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले भनिन् ।

कांग्रेसले पनि अब हाउसमै विधेयकमाथि आफ्नो फरक मतलाई उठाउने भएको छ । ‘हाउसमा विधेयकको प्रतिवेदन पेस होला । त्यसमाथि हुने सामान्य छलफलमा भाग लिएर हामी आफ्ना कुरा राख्छौं,’ कांग्रेस सांसद रामबहादुर विष्टले भने ।

विकास तथा प्रविधि समितिबाट विधेयक पारित हुँदा सांसद विष्ट र अर्का सांसद रंगमति शाहीले कांग्रेसका तर्फबाट फरक मत राखेका थिए ।समितिबाट पारित भएको विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पनि पारित भइ अगाडि बढे नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित र मौलिक अधिकार हनन हुने सांसद विष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस