प्रविधिमैत्री र सफा बन्दैछ नयाँ बसपार्क

रासस

सोमबार, २३ चैत्र २०७७, १५ : ४९
प्रविधिमैत्री र सफा बन्दैछ नयाँ बसपार्क

सांकेतिक तस्विर

काठमाडौँ ।  देशैभरका भाडाका बस आउने र जाने गर्ने मुलुकको एकमात्र राष्ट्रियस्तरको बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय प्रविधिमैत्री र सफा बनेको छ । यसकारण पछिल्लो समय यो बसपार्क व्यवस्थित बन्दै गएको देखिन्छ ।

केही वर्ष पहिले ‘नयाँ बसपार्क’ भन्ने वित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषितस्थल भन्ने ठाने पनि अहिले यसको स्वरुप फेरिएर प्रविधिमैत्री र व्यवस्थित बन्दै गएको हो । 

काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत् आवतजावत गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

शुरुका दिनमा जथाभावी रुपमा टहरा निर्माण गरेर नयाँ बसपार्क क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन हुँदै आए पनि हाल सबै टहरा हटाएर व्यावसायिक मल निर्माण हुन थालेपछि नयाँ बसपार्कको मुहार फेरिएको हो । ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउछन् ।

 “नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रुपमा निर्माण गर्न लागिरहेका छौँ,” उनी भन्छन् । ल्होत्सेले पछिल्लो समय नयाँ बसपार्कमा बस पार्किङ साँघुरो बन्दै गएको भन्दै नयाँ बसपार्कको खोजी समेत गर्न थालेको छ ।