कर्णाली प्रदेशका तीनजना मन्त्रीले आज राजीनामा दिने

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, ११ : १०
कर्णाली प्रदेशका तीनजना मन्त्रीले आज राजीनामा दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन् । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सोमबार राजीनामा दिन लागेका हुन् । 

आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले एमालेका तर्फबाट मन्त्री भएका तीनै जनाले सामुहिक राजीनामा दिन लागेको रातोपाटीलाई जानकारी दिए । ‘हाम्रो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले आजै हाम्रो राजीनामा आउँछ’, मन्त्री ज्वालाले बताए । 

यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन् ।

यो प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही छन् । यसअघि गत चैत चार गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस