अहिलेको युग विकास र समृद्धिको युग हो : मुख्यमन्त्री राई

रासस

आइतबार, २२ चैत्र २०७७, ११ : २३
अहिलेको युग विकास र समृद्धिको युग हो :  मुख्यमन्त्री राई

file-photo

खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताएका छन्  । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार उनले प्रदेश नं १ को सबै जिल्लामा सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटनलगायतको विकासले जनतामा समृद्धि मिलेको बताए । 

“प्रदेश सरकार बनेपछि सडक, पुल, खानेपानी, विद्युत्, कृषि, पर्यटनलगायतको विकासले जनतामा सुविधा पुगेको छ”, उनले भने , “अहिलेको युग विकास र समृद्धिको युग भएकाले जनताको अपेक्षाअनुसार प्रदेश सरकारले समेत क्रियाकलाप अगाडि बढाएपछि जनता पनि खुशी भएका छन् ।”

प्रदेश सरकारले अगाडि बढाएको कृषिमा अनुदान, युवालाई रोजगारलगायतका कामले समेत जनता खुशी भएको मुख्यमन्त्री राईले जिकिर गरे । पहाडी जिल्ला धनकुटा, भोजपुर र खोटाङको विकासे योजनाको अनुगमनमा आउनुभएका राईले मध्यपहाडी लोकमार्गअन्तर्गतको चखेवा–दिक्तेल सडक, समगरमाथा लोकमार्गअन्तर्गत माहुरे–फोक्सिङटार सडक निर्माणमा ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए ।

दिक्तेल रुपाकोट मझुवागढी–१४ बुइपास्थित पञ्चदोबाटोको यलम्बर उद्यान, ट्याम्के भ्यूटावर, मुन्धुम ट्रेलको काम धमाधम भइरहेकाले त्यसको विकासले पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने मुख्यमन्त्री राईले बताए। प्रदेश सरकारको तर्फबाट संसारको होचो स्थान झापाबाट संसारकै सर्वोच्च शिखर सगरमाथासम्म केबलकार योजना, सुनकोशीको दोलालघाटमा जेटबोटलगायतको योजना अघि बढाइएको मन्त्री राईले बताए ।
 

प्रतिक्रिया दिनुहोस