समृद्ध र सुखी नेपाल बनाउन सरकार लागिपर्छ : प्रधानमन्त्री ओली

बुधबार, १४ चैत्र २०७४, १५ : २८
समृद्ध र सुखी नेपाल बनाउन सरकार लागिपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र राजनीतिक स्थायित्वलाई सदुपयोग गरेर देशको आर्थिक अवस्थालाई माथि उठाउने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातांै राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गदै उहाँले मुलुकको तीव्र विकास तथा समृद्ध र सुखी नेपाल बनाउने अभियानमा वर्तमान सरकार लागिपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकासको नेतृत्व, समृद्धि हासिल र कृषिमा आधुनिकिरण वर्तमान सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आफ्ना हरेक पाइला विकासको निम्ति हुने बताउनुभयो । ‘‘अहिले मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेकाले ऋणात्मक अवस्थामा पुगेको छ,’’ उहाँले भन्नुभयो–‘‘संविधान र स्थायित्वसंगै वर्तमान सरकारले ऋणात्मक पुगेको अर्थतन्त्रलाई माथि उठाउँछ ।’’

प्रधानमन्त्री ओलीले ‘‘म कुरा नभइ काम गर्नका लागि सरकारमा आएको हुँ,’’ भन्दै ‘‘मुलुकमा साच्चै नमूना प्रजातन्त्र बनाएर सिंगो समाज उठाउने छु,’’ बताउनुभयो । नेपाललाई अरुले भनेजस्तो सिङ्गापुर, स्वीटजरल्याण्ड नभइ यहाँका प्राकृतिक स्रोत साधन प्रयोग गरी नेपाललाई नेपाल नै बनाउने बताउँदै उहाँले अहिलेको सरकार आउनु भनेको मुलुकमा नयाँ युगको थालनी भएको धारणा व्यक्त गर्नुभयो ।

‘‘एउटा सरकारको ठाउँमा अर्को सरकार बन्यो भन्नु मात्र होइन, यो सरकार आउनु भनेको एउटा नयाँ युगको प्रारम्भ विन्दु हो’’ उहाँले भन्नुभयो–‘‘अब गाउँका अधिकार व्यवहारिक रुपमै गाउँमै पु¥याउने हो ।’’ प्रधानमन्त्री ओलीले अहिलेको संविधानले समाजका सबै वर्ग र समुदायको प्रतिनिधित्व गरेको उल्लेख गदै अब लोकतन्त्र र प्रजातन्त्रलाई राजनीतिक स्वतन्त्रता र प्रणालीका लागि मात्र नभइ समग्र सामाजिक जीवन पद्दति, आर्थिक र राजनीतिक रुपान्तरणका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

‘‘अहिलेको परिवर्तन राजनीतिक परिवर्तन मात्र नभइ समग्र सामाजिक परिवर्तन हो’’ उहाँले भन्नुभयो– “नेपाल भाषिक, जातीय र भौगोलिक हिसाबले विविधतायुक्त समाज भएकाले यसमा बाहिरका मान्छेले खेल्न खोज्ने हुँदा यसप्रति सबैले सजगता र सर्तकता अपनाउनुपर्छ ।” प्रधानमन्त्री ओलीले छिमेकी देशसँग मित्रता सम्बन्ध राख्दै सहकार्य र विश्व शान्तिको पक्षमा लाग्ने बताउँदै निकट भविष्यमा नेपालबाट निरक्षरता उन्मूलन गर्ने समेत बताउनुभयो ।

नेपालमा सामजिक पछौटेपन रहेकाले निरक्षरता रहेको उल्लेख गर्दै उहाँले सरकारी र गैरसरकारी संस्था मिलेर निरक्षरता उन्मूलन गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले संसारका मजदुर एक हुनपर्नेमा जोड दिदैं श्रमको माग बढिरहेका बेला आफ्नो हकअधिकारका लागि सबै मजदुर एक जुट भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिफन्टका अध्यक्ष तथा प्रधानमन्त्रीका सल्लाहाकार विष्णु रिमालले श्रमिकको हकहितका लागि आफू लाग्ने बताउँदै ‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवी वर्ग’ भन्ने मूलनाराका साथ शुरु भएको महाधिवेशनमा २० देशका ५० जना श्रमिकको सहभागिता रहेको जानकारी दिनुभयो । यहि चैत १७ गतेसम्म चल्ने महाधिवेशनले ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने पनि उहाँले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस