नवलपुरमा भेटिए १४ कुष्ठरोगी

रासस

बुधबार, १८ चैत्र २०७७, १६ : ४४
नवलपुरमा भेटिए १४ कुष्ठरोगी

नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्व मा १४ कुष्ठरोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन् ।  

स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी भेटिएका हुन् । मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र  देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका हुन् । यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एकएक पुरुषमा कुष्ठरोग देखिएको छ । हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन् । 

यसअघि नवलपुरमा १६ कुष्ठरोगी सम्पर्कमा आएकामा उनीहरुको उपचार गरिएको श्रेष्ठले बताए । कतिपय कुष्ठरोगी सामाजिक विभेदका कारण थाहै नदिई घरमा बस्ने गरेका श्रेष्ठले बताए । नवलपुरलाई कुष्ठरोग मुक्त जिल्ला बनाउने अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।  

छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरु आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने,  शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन । 

प्रतिक्रिया दिनुहोस