नगरपालिकाहरूले वैज्ञानिक आधारमा योजना तर्जुमा गर्नुपर्छ: मुख्यमन्त्री राई

रासस

बुधबार, १८ चैत्र २०७७, १४ : २६
नगरपालिकाहरूले वैज्ञानिक आधारमा योजना तर्जुमा गर्नुपर्छ: मुख्यमन्त्री राई

file-photo

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नगरपालिकाहरूले वैज्ञानिक मापदण्डका आधारमा आवधिक योजना तर्जुमा गरी कार्य गर्नुपर्ने बताएका छन् । नगर विकास कोषद्वारा आजयहाँ आयोजित ‘ऋण लगानीमा पूर्वाधाररसमृद्ध नेपालको आधार’ नाराका साथ नगरपालिका वित्त तथा क्षमता विकास प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले उनले कृषि, पर्यटन, उद्योग, खेलकूद, सामाजिक र आर्थिक क्षेत्रमा गरेको कार्यका सम्बन्धमा समीक्षा गरी जनतालाई प्रस्ट जानकारी दिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले कोषले नगरपालिकाको संस्थागत आर्थिक अभिवृद्धि र पूर्वाधार विकास क्षेत्रलगायत दीगोपनका लागि स्रोत व्यवस्थापन उपलब्धिमूलक रहेको धारणा राखे । उनले  सङ्घीय, प्रदेश र स्थानीय सरकारको एउटै लक्ष्य भनेको नयाँ नेपाल निर्माण गर्नु हो भन्दै प्रदेश सरकार योजनाबद्ध ढङ्गबाट आधुनिक रुपले सुन्दर प्रदेश नेपाल निर्माणका लागि नगरपालिकासँग साझेदारी रुपमा कार्य गर्ने विचार व्यक्त गरे ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले १८ पालिका समेटेर ‘बृहत् विराट क्षेत्र’  कार्यलाई आगाडि बढाएको जानकारी दिँदै यसबाट यी क्षेत्रको शहरी विकास हुनाका साथै पर्यटन, खेलकूद क्षेत्रको उचाइ बढाउन सहयोग पुग्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकालाई नयाँ शहर विकास अभियानमा कोषको सहयोगले अगाडि बढाउने बताउँदै शहरीकरणलाई व्यवस्थित गर्न कोषको आर्थिक र प्राविधिक सराहनीय रहेको उल्लेख गरे ।

नेपाल नगरपालिकाका सङ्घका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख अशोककुमार व्यञ्जु श्रेष्ठले २९३ नगरपालिका क्षेत्रमा ६४ प्रतिशत नागरिकको बसोबास रहेकाले आर्थिक रुपान्तरण क्षेत्रमा ऋण लिएमा कोषलाई सबलीकरण गर्नाका साथै रोजगार र समृद्ध कायम हुने धारणा राखे । कोषका सञ्चालक समिति सदस्य एवं दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले पालिका सक्षम भएमा राज्यले समृद्ध हासिल गर्ने विश्वास व्यक्त गर्दै कोषले आयमूलक योजना क्षेत्रमा कार्य गर्नुपर्नेमा जोड दिईन् ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सङ्घीयतालाई बलियो बनाउन जनप्रतिनिधिहरूले गरेको योगदानको प्रशंसा व्यक्त गर्दै गाउँपालिका क्षेत्रमा कोषले आगामी दिनमा कार्य क्षेत्र बढाउने जानकारी दिए ।   
 

प्रतिक्रिया दिनुहोस