माधव नेपाल पक्ष एमालेको नयाँ भवनमा नजाने , अलग्गै पार्टी कार्यालय सञ्चालन गर्ने

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, १३ : ५४
माधव नेपाल पक्ष एमालेको नयाँ भवनमा नजाने , अलग्गै पार्टी कार्यालय सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेभित्रै बसेर अन्तर संघर्ष गर्ने भनिरहेका माधव नेपाल पक्षले अलग्गै पार्टी कार्यालय सञ्चालन गर्ने भएको छ । धुम्वाराहीबाट पार्टीको कार्यालय थापाथली हाइटमा सर्न लागेका बेला नेपाल पक्ष भने त्यहाँ नजाने भएको छ ।

आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताए ।

नेता नेपालले भने, ‘हाम्रो पनि भवनको खोजी जारी छ । कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला, त्यो भन्दा थापाथलीको पनि ठूलो र साननदार भवन हामीलाई चाहिन्छ । हामी धन्यवाद नै भन्ने छौं सहयोगका लागि ।’

नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाइने भन्दै सबै जिल्लासम्म संगठन विस्तार गर्न निर्देशन दिए । उनले सबै जनसंगठनहरुमा नयाँ नेतृत्वसहित कार्यालय सन्चालन गर्नुपर्ने बताए ।

नेपालले आफू लोकतन्त्रको मूल्य मान्यताका लागि कटिबद्ध रहेको बताएका छन् । उनले जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने पनि बताए ।  केपी ओली पार्टीभित्रको समस्या भएको भन्दै नेपालले आफू समाधान भएकाले केपी ओली एण्ड कम्पनीले आफूलाई गरेको कारबाहीको अर्थ नभएको प्रतिक्रिया दिए ।  सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’

माधव नेपालनिकट नेता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालयको लागि ठाउँ खोज्ने क्रम चलिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस