म मर्नका लागि तयार छु, तपाईहरु पनि तयार रहनुस् : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, १५ : २९
म मर्नका लागि तयार छु, तपाईहरु पनि तयार रहनुस् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मर्नका लागि तयार रहन कार्यकर्ताहरुसँग अपिल गरेका छन् ।  २० औं जेल ब्रेक दिवसको अवसरमा मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै  प्रचण्डले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय रहेको बताए ।

‘१९ पेज लामो प्रतिवेदन लेख्दै गर्दा मैले बम्बार्ड द हेडक्वार्टर लेखेको छु । त्यो भनेको यो बुर्जुवा हेडक्वार्टरलाई समाप्त गर भनेको हुँ । यसो भन्दा प्रतिक्रियावादीहरु तर्सन्छन् र मलाई जेल हाल्छन् भन्ने थियो’ प्रचण्डले भने, ‘मरेरै लाग्ने हो भने यो लडाँई पनि जित्छौें भन्ने लाग्छ । म मर्नका लागि तयार छु, तपाईहरु पनि तयार रहनुस् भन्ने अपिल गर्छु ।’

प्रधानमन्त्री केपी ओली प्रतिक्रियावादी शक्तिबाटै प्रयोग भइरहेको पनि उनले आरोप लगाए ।  ‘संघीयता, समावेशीता र गणतन्त्रविरोधी त्यो शक्तिले केपी ओलीलाई प्रतिनिधिका रुपमा प्रयोग गरिरहेको छ’, प्रचण्डले भने ।

पार्टी नेतृत्वको वरपर जाली फटाहाहरु हाबी भएको र त्यसमा आफ्नो पनि केही  कमजोरी भएको उनले स्वकारे । २०५७ सालमा जेलब्रेक गर्ने कमला नहार्की, रीता र सहिद मिना मरहट्टाका पिता नरनात मरहट्टालाई कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस