जनकपुरमा होली महोत्सव

महजोडी घोषित भए महामुर्ख

पत्रपत्रिकाबाट

सोमबार, १६ चैत्र २०७७, ०८ : १०
महजोडी घोषित भए महामुर्ख

जनकपुरधाम । चर्चित हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महामूर्ख घोषित भएका छन् । आइतबार जानकी मन्दिरमा आयोजित रंगारंग कार्यक्रममा महजोडीलाई संयुक्त रुपमा महामूर्ख घोषत गरिएको हो ।  प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल तथा मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले महजोडीलाई तरकारीको कलात्मक माला, प्रशस्तीपत्र तथा दोसल्ला ओढाएर सम्मान गरे ।

यसैगरी महजोडीले मन्त्री सोनललाई मूर्ख शिरोमणिको उपाधि प्रदान गरेका थिए । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले सम्मानित व्यक्तित्वहरुलाई उपहार दिएर स्वागत गरेका थिए । 

मोडल मल्टिपल क्याम्पसका संस्थापक वीरेन्द्र साहलाई लोढाशंकर, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पट्टमूर्ख, चर्चित चित्रकार एससी सुमनलाई तरघुसका, नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवलाई तरघुसका सामाजिक अभियन्ता शेषनारायण यादवलाई चौपट्टानन्द, पर्यावरण अभियन्ता सुरेश शर्मालाई हराशंख, वन–उद्योग तथा पर्यावरण मन्त्रालयका अधिकृत सुजितकुमार झालाई सिलौटानन्द, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष शीतल साहलाई ढोरवा, साहित्यकार अशोक दत्तलाई बोतलानन्द, उद्योगी शंकर साहलाई मुसरीलाल,जनकपुर उपमहानगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंहलाई वैशाखनन्दन, कराटे प्रशिक्षक विरेन्द्र कर्णलाई बज्रकीट तथा महिला नेतृ तथा कवियित्री बिन्दु ठाकुरलाई खापसुरैत, राजिव झा वंशकुरहरीको उपाधि प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा हास्य कवि गोष्ठी, फागु गीत तथा हास्य क्षणिका पनि प्रदर्शन गरिएको थियो ।  ४१ वर्षदेखि सँगै अभिनय गर्दै आएका महजोडीलाई मिथिलाको विधि अनुसार गठबन्धन गरिएको थियो । मिथिलाञ्चलमा पति–पत्नी वा मित्र–मित्र बीचको दीगो सम्बन्धको लागि गठजोड गरेर सँगै डुलाउने चलन छ । मिनापका कलाकारहरुले महजोडीलाई गठबन्धन गरेर मञ्चमा डुलाउँदै पारम्परागत गीत गाए । गठजोड पछि दुवै अत्यन्तै भावुक बनेका थिए ।

‘महामूर्ख हाम्रो जीवनको सर्वाधिक प्रिय उपहार’
महामूर्ख सम्मान प्राप्त गरेपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य भावुक बनेका थिए । उनीहरुको प्रतिक्रिया थियो, ‘महामूर्ख सम्मान हाम्रो जीवनको सर्वाधिक प्रिय उपहार हो । हामीले प्राप्त गरेका हजारौं पुरस्कार र सम्मानहरुको बीचमा यस सम्मानलाई सजाएर राख्ने छौं ।’

भावुक मदनकृष्णले मिनापलाई देश जोड्ने सेतुको रुपमा व्याख्या गरे । मिनापका कलाकारहरुसँग कलाकार र आमालगायतका अनेकौं टेलिश्रृंखलामा काम गर्ने मौका पाएको उल्लेख पनि उनले गरे । आफूले काठमाडौंमा मात्र मूर्ख देखेको उल्लेख गर्दै उनले भने, ‘होइन रै’छ । जनकपुरमा पनि धेरै मूर्ख रै’छन् । तर काठमाडौं जति छैनन् ।’ 

प्रतिक्रिया दिनुहोस