भारतमा एकै दिनमा झण्डै ६३ हजार सङ्क्रमित

रासस

आइतबार, १५ चैत्र २०७७, १३ : ५१
भारतमा एकै दिनमा झण्डै ६३ हजार सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७ सय १४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७ सय ३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । 

सङ्क्रमित हुनेहरुकोभन्दा सङ्क्रमणमुक्त हुनेहरुको दैनिक सङ्ख्या थोरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा समेत दिन प्रतिदिन बृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३ सय १२ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल एक करोड १९ लाख ७१ हजार ६ सय ३४ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी कुल एक करोड १३ लाख २३ हजार ७६२ जना सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्क छ । 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने चार लाख ८६ हजार ३१० रहेको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६१ हजार ५५२ पुगेको छ ।

कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाभाइरसबाट अहिलेसम्म ५४ हजार ७३ जनाको मृत्यु भएको छ । भारतमा यही मार्च २७ सम्म कुल २४ करोड नौ लाख ५० हजार ८४२ जनाको कोरोना परीक्षण गरिएको छ भने कुल छ करोड दुई लाख ६९ हजार ७८२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । (एएनआई)

प्रतिक्रिया दिनुहोस