बागमती प्रदेशमा आठ महिनाको अवधिमा कुल बजेटको करिब २६ प्रतिशत मात्रै खर्च

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ११ : ४६
बागमती प्रदेशमा आठ महिनाको अवधिमा कुल बजेटको करिब २६ प्रतिशत मात्रै खर्च

मकवानपुर । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल बजेटको २५.३५ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश सरकारले चालू वर्ष २०७७र७८ को फागुन मसान्तसम्ममा कुल ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ बजेटको १३ अर्ब ३ करोड ५१ लाख ३३ हजार रुपैयाँ मात्र खर्च गरेको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा चालुतर्फ कुल बजेटको २५ दशमलब ८४ प्रतिशत र पुँजीगततर्फ कुल बजेटको २३ दशमलब ५० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बागमती प्रदेशले जनाएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ २५ अर्ब ३ करोड २९ लाख १५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ३९ करोड ४५ लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क हेर्ने हो भने प्रदेश सरकार मातहतको प्रदेशसभा सचिवालयले सबै भन्दा धेरै बजेट खर्च गरेको देखिन्छ । प्रदेश व्यवस्थापिकाले चालु आर्थिक वर्षको ८ महिना अवधिमा कुल बजेको ३९ दशमलब ८६ प्रतिशत बजेट खर्च गरिसकेको छ ।

प्रदेश व्यवस्थापिकाका लागि चालुतर्फ २७ करोड २ लाख ७३ हजार रुपैयाँ र पुँजीतर्फ ४ करोड ९२ लाख ५० हजार रुपैयाँ गरी कुल ३१ करोड ९५ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।

विनियोजित कुल बजेटमध्ये प्रदेश व्यवस्थापिकाले चालुतर्फ ११ करोड ९६ लाख २३ हजार रुपैयाँ र पुँजीगततर्फ ७७ लाख २२ हजार रुपैयाँ गरी कुल १२ करोड ७३ लाख ४६ हजार रुपैयाँ चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा खर्च गरिसकेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको ८ महिना अवधिमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले कुल बजेटको सबैभन्दा कम ८ दशमलब ६५ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

मुख्यमन्त्री कार्यालयलाई चालुतर्फ ५६ करोड १७ लाख ६१ हजार रुपैयाँ र पुँजीगततर्फ ३० करोड ४३ लाख ३० हजार रुपैयाँ गरी कुल ८५ करोड ६० लाख ९१ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा फागुन मसानसम्ममा कार्यालयले चालुतर्फ ६ करोड ७३ लाख १ हजार रुपैयाँ र पुँजीगततर्फ ७५ लाख ९५ हजार रुपैयाँ गरी कुल ७ करोड ४८ लाख ९७ हजार रुपैयाँ मात्र खर्च गरेको छ ।

तुलनात्मक रुपमा प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष भन्दा बढी बजेट खर्च गर्न सफल भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी राजेन्द्र पाण्डे बताउँछन् ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७० को चैत मसान्तसम्ममा प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालय तथा कार्यालयहरूले कुल बजेको १९ दशमलब ५७ प्रतिशत मात्र बजेट खर्च गरेका थिए ।

कोरोना संकटका बीचमा नै गत आर्थिक वर्षमा प्रदेश सरकारले कुल बजेको ५८ दशमलब ७१ प्रतिशत बजेट खर्च गरेको पाण्डेले बताए ।

अघिल्लो आर्थिक वर्षको तुलनाका आधारमा भन्ने हो भने चालु आर्थिक वर्षमा प्रदेश सरकारले कुल बजेटको ७० प्रतिशत मात्र बजेट खर्च गर्ने अनुमान रहेको पाण्डे बताउँछन् ।

यस वर्ष पनि कुल बजेटको ३० प्रतिशत रकम खर्च नहुने अवस्था रहेको उनले बताए ।असारे विकासका काम तुलनात्मक रुपमा केही कमि आए पनि अन्त्य नभएकाले आर्थिक वर्षको अन्त्यमा मात्र बजेट खर्च बढि हुने गरेको उनको भनाइ छ ।

प्रदेश सरकारले संचालन गरेको विभिन्न योजनाको सम्झौता भएर मोभिलाइजेशन पेश्की मात्र भुक्तानी भएकाले र केही योजनाहरु प्रदेश सरकारले उपभोक्ता समितिमार्फत पनि संचालन गरेको र समितिका व्यक्तिहरु आर्थिक वर्षको अन्त्यमा मात्र भुक्तानी माग गर्दै आउने भएकाले पनि आर्थिक वर्षको अन्त्यमा मात्र बजेट खर्च बढी हुने गरेका उनको भनाई छ ।

आर्थिक वर्ष समाप्त हुन ४ महिना अवधि बाँकी रहेको छ । यो ४ महिनाको अवधिमा प्रदेश सरकारले कुल बजेटको ७५ प्रतिशत बजेट खर्च गर्नु पर्नेछ ।