जनताको १ अर्ब निल्ने व्यापारी जोगाउन बालुवाटारलाई सकस

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, १० : ०८
जनताको १ अर्ब निल्ने व्यापारी जोगाउन बालुवाटारलाई सकस

काठमाडौं । नेकपा (एमाले) मा प्रधानमन्त्री केपी ओली गुटको भएपछि जे जसो गरेपनि हुँदो रहेछ । उनीहरुलाई कुनै नियम लाग्दैन, कानून लाग्दैन । उनीहरु सबै विधि, पद्दती र नियम भन्दा माथिका हुन् भने जस्तै भएको छ । भ्रष्टाचार गरे पनि उनीहरुलाई छुट भएको छ । निक्षेपकर्ताको निक्षेपमाथि लुटपाट गरेपनि उनीहरुलाई छुटै छ ।  सहकारीको नाममा ठगी गरेपनि उनीहरुलाई कुनै मतलब नै हुँदैन । किनकी कानून त अरुलाई पो लाग्छ त, एमाले, त्यसमा पनि ओली समूहलाई लाग्दैन । सो गुटलाई कानूनले कुनै पनि हालतमा छुँदैन ।

तथ्यहरु भन्छन्, केपी ओलीको नाम लिएर उनीहरु सरकारी अधिकारीलाई थर्काउँछन्, धम्क्याउँछन् । उपल्ला सरकारी कर्मचारी पनि सोही अनुसार नै जी हजुरी गर्न बाध्य हुन्छन् । जसले जी हजुरी गर्दैन, उसलाई कि त फाजिलमा  हालिन्छ, कि त कारवाही गरिन्छ । प्रधानमन्त्री ओलीले नेपालको लोकतन्त्रमा सेटिङ गरेको प्रवृत्ति हो यो । ओलीतन्त्रमा मानिसहरु आजित छन् । उनीहरु कहिले ओलीतन्त्र सकिएला भन्नेमा आशावादी छन् । भएको संविधान, कानुन, विधि तथा पद्दती विरुद्ध उभिएका ओली सबैतिरबाट खेदिएका छन् । नओलीको नाममा जे जसो गरेपनि हुने, कानूनी, गैरकानूनी कुनै पनि विषयले उनलाई नछुने अवस्था आएपछि नेपालको कानून ओली गुटले जानून, भन्ने स्थापित गरिएको छ ।

हरेक दिन जसो हुने बालुवाटारको भोजमा अओलीले खर्च गरेको पैसाले दूरदराजका गाँउमा राम्रा विद्यालय बन्न सक्छन् । राम्रा अस्पताल बन्न सक्छन् । राम्रा भौतिक पूर्वाधार बन्न सक्छन् । ओलीले राज्यकोषमा गरेको ब्रम्हलुटको पैसाले खान नपाएका, रोजगारी नभएका, उपचार नपाएका मानिसहरुका लागि योगदान गर्न सकिन्छ । जानकारहरु भन्छन्, ओलीको कार्यकालमा भएको लुटपाट तथा अनियमिततालाई मात्रै नियन्त्रण गर्न सकियो भने, त्यसबाट विकासको बहार नै ल्याउन सकिन्छ ।  नेपाली काँग्रेसले बहुदल स्थापनापछि निजीकरणका नाममा गरेको राज्यका उद्योग प्रतिष्ठानहरु क्रमशः खण्डिकरण र खण्डहर भएका छन् । त्यही साधन र स्रोत सिमित व्यापारीले आफनो स्वार्थमा प्रयोग गरे ।

जसरी भएपनि पैसा कमाउने ध्याउन्नमा लागेको बालुवाटार व्यापारीलाई खुसी बनाएर अझै राज्यका सम्पत्ति लुटाउन लागिपरेको जानकारहरुको भनाइ छ । यसैक्रममा पछिल्लो पटक बालुवाटारको योजनामा नै निक्षेपकर्ताको निक्षेपमाथि लुटपाट गरेका इच्छाराज तामाङलाई जोगाउन लागिपरेको तथ्य सार्वजनिक भएको छ । मेरो घरवास नै उठ्ने भयो भन्दै इच्छाराज सबैभन्दा पहिले ओली गुटका खास कारिन्दा विष्णु रिमाललाई भेटन पुगे । 

कण (एमालेका नेताहरु एक आपसमा कमरेड भन्ने शब्दलाई छोटो बनाएर कण भन्ने गर्छन्) , म त सकिने भए, प्रधानमन्त्री कार्यालय मातहतकै सम्पत्ति शुद्धिकरण विभागले मेरो घरबास उठाइदिने भयो, मलाई जसरी पनि जोगाइदिन प¥यो, त्यसका लागि म कणलाई जे जस्तो सहयोग पनि गर्न तयार छु । रिमाललाई चिने जाने मानिसहरुका अनुसार पैसा, आउँछ भने पछि रिमाल जस्तो सुकै काम गर्न पनि तयार हुन्छन् । उनलाई पैसा चाही आउनु प¥यो । पैसा नै दिने हो र इच्छा कण ? रिमालको प्रतिप्रश्न थियो । हो, कण हो, हजुरले जति भन्नुहुन्छ । त्यत्ति मिलाउँला । बरु तयो सम्पत्ति शुद्धिकरण विभागले मलाई दुःख दिएको छ, त्यसलाई ठिक गरिदिनुप¥यो । इच्छाराजको कुरा सुनेपछि रिमालले फेरी भने, म प्रधानमन्त्रीसँग कुरा गर्छु, तपाई पैसाको प्रबन्ध गरेर आउनुस ।

ओलीको नाममा पैसा उठाउने, गुट परिचालन गर्ने, मुन्सीको प्रमुख भमिकामा रिमाल छन् । ओलीको अघिल्लो कार्यकालमा पनि उनले राम्रै उठती धन्दा चलाएका थिए, पछिल्लो तीन वर्षे कार्यकालमा पनि सात पुस्तालाई पुग्ने पैसा रिमालले कमाएको बालुवाटारमा उनको नजिक रहेकाहरु बताउँछन् । रिमालले भने अनुसार नगर्दा, प्रेस सल्लाहकार कुुँदन अर्याल हटाइएका थिए । प्रेस संयोजक चेतन अधिकारी फालिएका थिए, प्रधानमन्त्रीका फोटोग्राफर कृष्ण पौडेल हटाइएका थिए । उनीहरुले रिमालले बालुवाटारमा बसेर गरेको धन्दाको फेहरिस्त थाहा पाएका थिए । कुनै न कुनै दिन सञ्चारमाध्यममा उनको लुटखसोटको धन्दा सार्वजनिक हुने भएपछि उनै रिमालले ओलीसँग कानेखुसी गरेर उनीहरुलाई हटाएका थिए । 

रिमालको धन्दा बारे जानकार बालुवाटारमा एक उच्च पदस्थ कर्मचारीका अनुसार पछिल्ला दिनमा इच्छा कण असाध्यै धेरै आउनु भएको थियो ।  प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसांसद तथा व्यवसायी तामाङको सबै बैंक खाता रोक्का गरेपछि उनको बालुवाटार यात्रा पनि उत्तिकै बाक्लिएको हो । विभाग स्रोतका अनुसार तामाङ सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेर व्यक्तिगत लाभ आर्जन गरेको पाइएको छ । सोही विषयमा विभागले लामो समयदेखि छानबिन गरेको थियो । विभागले उनका सबै सम्पत्ति रोक्का गरी छानविन अघि बढाएको छ । छानबिनको सबै विवरण तयार भइसकेको छ । छानबिन प्रतिवेदन तयार भएको तथ्य विभागका कर्मचारीले नै तामाङलाई गराएका थिए । त्यसपछि उनले दौडधूप शुरु गरेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपप्रधानमन्त्री इश्वर पोखरेललाई भनेर पनि काम नलाग्ने भएपछि तामाङले सोझै रिमाललाई भनेको बताइन्छ । पोखरेलले भने आफूले मिलाउन लागेको केश रिमाल कहाँ गएको भन्दै आपत्ति जनाएको बताइन्छ । मलाई भनेको भए भइहाल्थ्यो नी, किन उता जानु परेको होला ? इच्छा कणले त्यसो नगरेको भए हुन्थ्यो, पोखरेलले विभागसँगको विषयमा भने – म नै सहजीकरण गरिदिन्थे नी । तामाङले सिभिल सहकारीको रकम लिएर विभिन्न संस्थामा लगानी गरेको फेला परेको भन्दै विभागले छानबिन प्रतिवेदन तयार पारेको छ । जानकार स्रोतका अनुसार तामाङले सहकारीमा बचतकर्ताले जम्मा गरेको १ अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको पाइएको छ । निक्षेपकर्ताको पैसा घरजग्गा र बैंकिङ क्षेत्रमा लगानी गरेको पाइएको विभागले तयार पारेको १३५ पेज लामो प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, उनले विभिन्न व्यक्तिका नाममा बैंकमा रकम राखेको र श्रीमतीको नाममा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा १२ करोड ७५ लाख बराबरको रकम मुद्दती निक्षेपमा राखेको तथ्य विभागले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । अवैध रुपमा जोहो गरेको र निक्षेपकर्ताको पैसा जोगाउन भन्दै तामाङले श्रीमती सृजना शाक्यसँग कागजी रूपमा सम्बन्ध विच्छेद गरेको नाटक गरेका छन् । यसअघि सम्पत्ति जोगाउन गुरु न्यौपानेले पनि श्रीमतीसँग नक्कली सम्बन्ध विच्छेद गरेका थिए । सोही शैलीमा इच्छाराजले समेत सृजनासँग सम्बन्ध विच्छेदको नाटक गरेका छन् । हिनामिना गरेको रकमको हिसाब मिलाउन भन्दै तामाङले नाटकीय रुपमा दुनियाँ मुर्ख बनाउने ध्येयका साथ सम्बन्ध विच्छेदको नाटक गरेको विभागले तथ्य र प्रमाण समेत जुटाएको छ ।

सम्बन्ध विच्छेद भएको भनिएकी श्रमिती नै लिएर उनी सँगै हिड्ने गरेका छन् भने रिमालसँग भेटन पनि उनीहरु सँगै पुगेका थिए । प्रधानमन्त्री ओली पत्नी राधिकालाई दिदी साइनो लगाउने सिर्जनाको नाममा मात्रै झण्डै ५ अर्ब बराबरको सम्पत्ति देखिएको छ ।  विभागका अनुसार विवरण तयार भएको र बयानका लागि बोलाउने तयारी गरिएको थियो । तर केपी ओली, रिमाल र ईश्वर पोखरेलगायतले विभागका निर्देशक माथिका सबै कर्मचारीलाई पालै पालो फोन गरेर तामाङलाई कारवाही गरे, तिमीहरुमाथि नै कारवाही हुने भन्दै थर्काएका थिए । विभागका एक कर्मचारीले भने, चर्को दबाव परेको छ, खै कारवाही गराउन सकिएला जस्तो छैन । 

विभागले तामाङसँग बयान लिने तयारी भने जारी राखेको छ । राजनीतिक दबाब नै आएपनि उनलाई कारवाहीको दायरामा ल्याउने आफनो इच्छा छ, विभागका एक निर्देशक भन्छन्, ओली गुट भएकै आधारमा उनलाई छुट दिन सकिदैन । बालुवाटारले तामाङको विषयलाई कोही कसैले पनि थाहा नपाउने गरी लुकाउन नै चाहेको छ । सम्पत्ति शुद्धिकरणको विषयलाई गुपचप राखेर रोक्का भएको खाता फकुवा गर्न चर्को दबाव परेको बताइन्छ । विभागका ती निर्देशकले समेत चर्को दबाव परेको बताए ।  एमाले त्यसमा पनि ओली गुटका पूर्वसांसद तामाङ घरजग्गा व्यवसायी र सिभिल बैंक सञ्चालक समितिका अध्यक्षसमेत हुन । अन्य क वर्गका वाणिज्य बैंकले राम्रो व्यवसाय गरिरहेको भएपनि सिभिल बैंक झण्डै झण्डै रुग्न अवस्थामा रहेको छ ।

सो बैंकलाई कोही कसैले पनि मर्ज गर्न चाहेका छैनन् । उनले सोही बैंक देखाएर धन्दा चलाउनका लागि  सिभिल होम्स नेपाल नामको घरजग्गाको कारोबार गर्ने कम्पनी पनि सञ्चालन गर्दै आएका छन् । उनै सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्था पछिल्लो दुई वर्षदेखि वित्तीय चुनौती र आर्थिक समस्याबाट गुज्रिरहेको पाइएपछि नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेको छ । सहकारीमा रकम जम्मा गरेको निक्षेपकर्ताको रकम फिर्ता गर्न माग गर्दै सोल्टीमोडदेखि कालीमाटी, कलंकीसम्म लाइन नै लागेको थियो । पैसा माग्दै हजारौ मानिस आएपछि उनले गत जेठमा पत्रकार सम्मेलन नै गरेर आफूहरु समस्यामा परेकाले सहयोग गर्न भनेका थिए ।

उनले विशेष गरी सहकारी संस्थालाई नै सहयोग गर्न अनुनयविनय गरेका थिए । सोही समूहको स्वामित्वमा रहेको सिभिल सहकारी संस्थाको ऋण विवादमा मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा अहिले पनि मुद्दा चलिरहेको छ । तर, तामाङले त्यहाँ पनि मुद्दा प्रभावित पार्न अनेकन तिकडम गरेको जानकारहरुको भनाइ छ । जे भएपनि ओलीको कामचलाउ सरकार ढलेपछि भने पनि उनीहरुमाथि कारवाही गर्ने तयारीमा विभाग रहेको छ । अब तामाङलाई कारवाही गर्नबाट कोही कसैले रोक्न सक्दैन । होइन भने विभागल नै विघटन गरिदिए हुन्छ, विभागका अर्का निर्देशकले भने । जानकारहरुका अनुसार सहकारीले आफ्नै हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गैरकानुनीरुपमा प्रवाह गरेका कारण संस्था धराशायी भएको हो । पैसाको खोजीमा बचतकर्ता र सेयर सदस्य अदालत पुगेका हुन । उक्त सहकारीले  राष्ट्रिय सहकारी बैंकबाट लिएको ३० करोड भन्दा बढी ऋण पनि लामो समयदेखि तिर्न सकेको छैन् ।