मेरो चोक

मंगलबार, १३ चैत्र २०७४, १५ : ३१
मेरो चोक

भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ?

आधुनिक नेपाली कविताका सर्वाधिक लोकप्रिय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली परिवेशमा हुर्के र उनले धनीमानीले सजिलै अवलम्बन गर्न नचाहने माक्र्सवादजस्तो राजनीतिक दर्शनलाई अंगीकार गरे ।

उनले जनवादी नारालाई कलात्मक रूप दिए र रिमालले कोरेको गद्यकविताको राजमार्गलाई सिमेन्टेड (पक्की) बनाए । उनले आधुनिक नेपाली कविताको भाषालाई विषयवस्तु र रूपले समृद्ध पारे ।

 

मेरो चोक

- भुपी शेरचन

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन,
यहा त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ
न कसैले पुज्छ न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ l

प्रतिक्रिया दिनुहोस