अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

रासस

बुधबार, ११ चैत्र २०७७, ०९ : ०३
अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

file Photo

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । आमाले साथ छाडेपछि उनले बुवाको माया पाउन सकिनन् ।

अहिले मामाघरमा बसेर विद्यालयमा जाने गरेकी छन् । आशाजस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुवाले दोस्रो विवाह गर्दा उनी पनि अर्की आमाको निशानामा परिन् । अर्काको कोखबाट जन्मिएको सन्तानलाई आफ्नो स्वीकार गर्न नसक्दा उनी घर छाडेर आफन्तकोमा बस्न बाध्य भइन् । जलजला–२ रातढुङ्गाका विवश परियार कक्षा ४ मा अध्ययनरत छन् । विवशका बुवाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन् ।

बेनी नगरपालिका–५ पुलाचौरकी शनिशा परियारको बुवा सिकिस्त बिरामी छन् । बुवा लगातार बिरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा दोस्रो विवाह रोजिन् । अहिले घरमा बुवा बिरामी छन्, खाने, बस्ने र पढ्ने वातावरण नभएपछि ठूली आमाको घरमा बसेर सोही ठाउँको विद्यालयमा जाने गरेकी छन् । 

विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्ती क्षेत्रीले अभिभावकविहीन पाँच बालबालिकाको अवस्था बिजोग रहेको बताउनुभयो । “उनीहरुलाई पढ्न वर्षभरि आवश्यक पर्ने साम्रगीकै अभाव छ, सबै आफन्तको घरमा बसेका छन्, आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ”, प्रअ घर्तीले भने ।

उनका अनुसार सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेको छ । यता वडाध्यक्ष गोविन्द खत्रीले दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरेको बताए । “सिङ्गो दलित बस्तीका बालबालिकामा धेरै अभाव छ, वडाबाट सक्ने सहयोग हुन्छ”, अध्यक्ष खत्रीले भने ।

प्रतिक्रिया दिनुहोस