नयाँ सरकार गठनमा ‘काँग्रेस–जसपा’ एक अर्कालाई दोष देखाउँदैं किन पन्छिदैं छन् ?

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, ०८ : ०८
नयाँ सरकार गठनमा ‘काँग्रेस–जसपा’ एक अर्कालाई दोष देखाउँदैं किन पन्छिदैं छन् ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने आवश्यकता प्रमुख दलहरुका बीचमा छ । ओलीले सत्ताको बागडोर सम्हालेयता उनको स्वेच्छाचारिता र निरंकुशता बढ्न थालेपछि उनले सत्ताको चरम दुरुपयोग गर्न थालेका छन् । असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटन सम्म आईपुग्दा त उनको नैतिकता नै धरापमा परेको छ । अदालतले प्रतिनिधीसभा पूर्नस्थापना गरेपछि नैतिकताका आधारमा उनले राजीनामा दिएर अर्काे सरकार गठनको लागि बाटो खोलिदिनुपर्ने हो । तर ओलीले त्यसो गर्न चाहेनन् ।

उनले बरु उल्टै आफ्नो भन्दा विकल्पमा एउटा मात्रै सरकार गठनको बाटो रहेको देखेपछि त्यो सरकार गठनको बाटो छेक्न काँग्रेस सभापति शेरबहादुर देउवासँग भित्री साँठगाँठ गर्ने देखि जसपाभित्र पनि पूर्व राजपाभित्रका नेतालाई निरन्तर बालुवाटार बोलाएर भेटघाट गर्ने, फकाउने र चलखेल गर्ने गर्दै आईरहेका छन् । काँग्रेस र जसपाभित्रकै प्रष्ट निर्णय नआउदा ओलीको विकल्पको सरकारको सम्भावना टर्दै जान थालेको छ ।काँग्रेसले जसपा क गर्ने नगर्ने विषयमा अल्झेको र जसपा काँग्रेस प्रष्ट नभएको कारण नयाँ विकल्पको सरकारको सम्भावना प्रष्ट रुपमा बन्न नसकेको आरोप लगाउन थालेका छन् ।

काँग्रेसले जसपाले के गर्ने विषयमा अलमलमा पर्दा सत्ता समिकरणका लागि आवश्यक बहुमत १३८ को संख्या नपुग्ने बताउदै आईरहेको छ । उता जसपा काँग्रेस सभापति तयार नभई कसरी अर्काे सरकार वन्ने बाटो खुल्छ भनेर आरोप लगाईरहेका छन् । ओलीले चाहेको पनि यस्तै छ ।
ओलीले आफ्नो पार्टीभन्दा विकल्पमा रहेको काँग्रेस, माओवादी केन्द्र र जसपा नमिलोस् भन्ने चाहिरहेको छ । त्यही परिस्थिती काँग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोका कारण जन्मिरहेको छ । 

माओवादी केन्द्रले प्रष्ट रुपमा सरकारको नेतृत्व लिन काँग्रेस सभापति देउवालाई आग्रह गरिसकेको हो, माओवादी स्थायी समितिका एक सदस्यले सफलखबरसँग भने, तर खोई उहाँहरु अझै तयार देखिनु भएन । ओलीको निरंकुशतालाई विरोध गरेजस्तो पनि गर्ने, तर उनको विकल्पमा सरकारको नेतृत्व लिन पनि तयार नहुने शैलीले काँग्रेसको भविश्य समेत ओलीसँगको साँठगाँठमै भत्कने देखिदैछ ।

काग्रेसभित्रकै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, जसपाभित्र पनि उपेन्द्र यादव र डा. बाबुराम भट्टराईहरुले ओलीको विकल्पको सरकार गठनको प्रयास थाल्न भनिरहेका छन् । तर देउवा, महन्थ र राजेन्द्र महतो तयार नहुनुभित्रको अनौठो रहस्य नेताहरुले नै बुझन सकेका छैनन् । ओलीले माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिए विश्वासको मत लिन जाने तयारी गरेका छन् । माओवादी केन्द्रले भने समर्थन फिर्ता अगाडी काँग्रेस, माओवादी र जसपालाई मिलाएर अविश्वास प्रस्ताव तयार पार्न खोजेका हुन् । तर देउवा र जसपाभित्रको राजपा खेमाका कारण त्यो सम्भावना टर्दै जान थालेको छ ।

यस्तो अवस्था रहिरहे माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिन सक्छ । यस्तो अवस्थामा काँग्रेसले लिने नीतिले ओलीको भविश्य देखाउनेछ । तर काँग्रेसले प्रष्ट धारणा तय गर्न नसक्दा फेरि मुलुक देउवाले गत हप्ता मात्रै राष्ट्रपति कार्यालयमा मुख खोले झै मध्यावधीतिरै धकेल्न खोज्ने सम्भावना देखिन थालेको बुझाईमा राजनीतिक दलका नेताहरु देखिएका छन् । 

नयाँ सरकारको सम्भावनालाई मुखैमा आएर पनि टार्दै लाने काममा देउवा र जसपाभित्रका महन्थ र राजेन्द्र महतोहरु लाग्नुले ओलीले भित्रभित्र यी शक्तिहरुसँग भागवन्डाको राजनीति खोलिरहेका छन् । आफनो सत्ता टिकाउन जुनकुनै सम्झौता नगर्ने भनी बाहिर प्रधानमन्त्री ओलीले बोलेपनि उनको भित्री खेल भने गोप्य सम्झौतातिरै केन्द्रीत रहेको देखिन थालेको एमालेभित्रकै माधव नेपाल खेमाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस