विश्वकप बहिस्कार गर्ने अस्ट्रेलियाको चेतावनी

एजेन्सी

मंगलबार, १३ चैत्र २०७४, १३ : ४४
विश्वकप बहिस्कार गर्ने अस्ट्रेलियाको चेतावनी

सिड्नी । अस्ट्रेलियाकी विदेश मन्त्री जुली विसपले राष्ट्रिय फुटबल टोलीले रसियामा आयोजना हुन लागेको विश्वकप प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएकी छिन् ।

मस्कोका दुई जना कुटनीतिज्ञहरुलाई क्यानबेराबाट देश निकाला गर्ने निर्णयपछि उनले सो चेतावनी दिएकी हुन् । बेलायतमा भएको रसियाली जासुसमाथिको आक्रमणपछि प्रतिक्रिया जनाउँदै ‘जासुस’ का रुपमा काम गरेको आरोपमा दुई जना कुटनीतिज्ञहरुलाई देश निकाला गरिएको बताइएको छ ।

रसियासँग बढ्दो तनावबीच राष्ट्रिय फुटबल टोलीले प्रतियोगिता बहिस्कार गर्न सक्ने विसपले जानकारी दिइन् । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै विसपले भनिन्, ‘साल्सबरीमा भएको रसियाली जासुसमाथिको रसायनिक आक्रमणपछि रसियामाथि थप कारवाहीहरु अघि बढाउने तयारी छ । यसमा विश्वकप फुटबल प्रतियोगिता बहिस्कार पनि एक हुनसक्छ ।’

अस्ट्रेलिया यति बेला कोलम्बियाविरुद्ध मैत्रिपूर्ण खेल खेल्नका लागि लण्डनमा रहेको छ । चार दिनअघि ओस्लोमा भएको मैत्रिपूर्ण खेलमा अस्ट्रेलिया नर्वेसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस