४० वर्षपछि फर्केको दुर्गाप्रसाद तिम्सिनाको खुसी

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, १४ : ५२
४० वर्षपछि फर्केको दुर्गाप्रसाद तिम्सिनाको खुसी

काठमाडौं । इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) मा ४० वर्षपछि फेरि खुसी फर्केको छ । उनी शनिबार ४० वर्षको जेलजीवनपछि थुनामुक्त भएका छन् । 

सुनुवाइ विनै ४० वर्षसम्म भारतीय जेलमा बसेका उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेर दुर्गाप्रसाद छुटाएका छन् । कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिनाका अनुसार आजै स्थलमार्ग हुँदै उहाँहरु घर फर्किँदै छन् । उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ उनलाई छाड्न आदेश दिएको थियो ।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो । प्रकाश शुक्रबारै कोलकाता पुगे पनि कानुनी प्रक्रिया पूरा नहुँदा शनिबार मात्रै दुर्गाप्रसाद छुटेका हुन् । अदालतले प्रत्येक ६\६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने पनि भनेको छ । त्यसो त अदालतले उनी करिब ४१ वर्ष जेल बसिसकेको बताउँदै थप समय कारागारमा राखेर न्यायको कुनै औचित्य पूरा नहुने पनि भनेको थियो ।

दुर्गाप्रसादको पक्षमा उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले बसह गरेका थिए । उनीहरुले न्यायको पक्षमा भन्दै निःशुल्क बहस गरेका थिए । ‘उहाँ छुट्दै गर्दा मलाई खुसी र चिन्ता दुवै लागेको छ,’ उनले भने, ‘खुसी यस अर्थमा कि ४० वर्षपछि उहाँ घर आउँदै हुनुहुन्छ, चिन्ता चाहिँ आधा जिन्दगी उहाँले आकाश देख्न पाउनु भएन, अब कसरी अघि बढ्नु हुन्छ होला भनेर ।’

उनका अनुसार १९ वर्षको हुँदा घरबाट हराएका दुर्गाप्रसादको ब्रतबन्ध पनि भएको छैन । ‘हिन्दु परम्परा अनुसार गर्नुपर्ने कार्यहरु भएका छैनन्, घरमा लगेर गर्नुपर्नेछ’, उनले भने । अदालतले क्षतिपूर्तिबारे पनि बोलिदिएको भए हुने उनको अपेक्षा थियो । कानुन व्यवसायीहरुको दाबीअनुसार उनलाई जिम्मा जमानी छाड्न मात्र मागिएकाले अदालत त्यस विषयमा प्रवेश नगरेको हुनसक्छ । यद्यपि, क्षतिपूर्ति माग गर्दै भारतको उच्च अदालतमा मुद्दा हाल्ने ठाउँ छ । त्यस विषयमा क्रमशः छलफल गर्ने परिवारले जनाएको छ  ।

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनी विभिन्न जेलमा सारिए, यता परिवारले उनी आन्दोलनमा मारिएको हुनसक्ने आशंका ग-यो ।

प्रतिक्रिया दिनुहोस