बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप

रासस

शनिबार, ०७ चैत्र २०७७, १३ : ३३
बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ ।युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन् ।

“मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।  

उनले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन् । “कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,” उनले उल्लेख गरेका छन् । खोप लगाएपछि आफुलाई कुनै असजिलो नभएको जानकारी दिदै उनले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताए । 

प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए । बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाउनु भएको छ भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ । 

कोरोनाविरुद्धको खोपको प्रयोग पनि सवैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो । (एएनआई) 

प्रतिक्रिया दिनुहोस