संसदमा अनेकौ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेका छौँ : सभामुख सापकोटा

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, १३ : १९
संसदमा अनेकौ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेका छौँ : सभामुख सापकोटा

file Photo

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले बिस्तारै लय समात्ने बताएका छन् । शनिबार जी.पी.कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

संसद छलफल, बहस, बादविवाद र सम्वाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरुको सामना गर्न प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेको बताए । संसदको अनेकौ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनको भनाई छ ।

उनले भने, ‘अलिकति समस्याहरु छन् । त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ । तर हिजोबाट तपाइहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जिवन्त र जनमुखि हुने नै छ । हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौँ । संसदको मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगिरथ प्रयत्न गर्दैछौँ र त्यसपछि बनेको कानुनहरु कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ । चुनौतीहरु अवश्य छन् । समस्याहरु अवश्य छन् । नयाँ नयाँ उपायहरु प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेका छौँ र बिस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छुकी त्यसले फेरी गति लिनेछ । जीवन्त र जनमुखी हुनेछ । संसद भनेको छलफल, वहस, वादविवाद, सम्वाद हुँदै अगाडी जाने कुरा हो । वादविवाद छ अब सम्वाद हुँदै अगाडी बढ्छ ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले राजनीतिक पार्टीहरु बीच सहमती र सहकार्य हुन नसकेको भन्दै सहमती साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताए । उनले भने, ‘मुलुक तरलताको अवस्थामा छ । अझैपनि राजनीतिक पार्टीमा सहमती, सहकार्य र एकता हुन सकेको छैन । मुलुकलाई समृद्धितर्फ, राजनीतिक स्थिरता तर्फ लगेर जान आवश्यक छ ।’

सांसद प्रधानले राजनीतिक सहमती नभए मुलुकमा अस्थिरता हुनाले देशमा विकास र शान्ति नहुने पनि बताए । 
 

प्रतिक्रिया दिनुहोस