प्रधानमन्त्री ओली विरुद्धको लडाईमा के गर्लान् माधव नेपाल ?

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, ११ : ०८
प्रधानमन्त्री ओली विरुद्धको लडाईमा के गर्लान् माधव नेपाल ?

काठमाडौं । तीन वर्ष पहिले एमाले र माओवादी केन्द्र बिच भएको एकीकरणबाट बनेको पार्टी नेकपालाई सर्वोच्च अदालतले खारेज गरेपछि अहिले दुवै पार्टी ब्यूँतिएको छ । दुवै पार्टी अस्तित्वमा आएपछि दुवै पार्टीले आ–आफ्नै तवरले कामहरु अगाडी बढाएका छन् । तर सर्वोच्च अदालतलको आदेश पछि त्यसको सबैभन्दा बढी फाईदा  ओली र उनको गुटलाई भएको छ । अदालतको फैसलाका आधारमा ओली गुटसँग नै जानुपर्ने भएपछि प्रचण्डसंग नजिक रहेका माधवकुमार नेपाल र उनको समूह अहिले सबै भन्दा बढी मारमा परेका छन् ।

एमालेमा प्रधानमन्त्री केपी ओली आफुखुसी कामहरु अगाडी बढाएपछि पार्टी अहिले दुई गुटमा बाँडिएको छ । झलनाथ खनाल र माधव नेपाल समुह संस्थापन पक्ष बाहिर रहेर जिल्ला तह सम्म समानान्तर कमिटिहरु गठन गर्न थालेका छन् भने यता ओली समुहले पार्टीमा गुटबन्दी गरेको भन्दै कारवाहीको तयारी समेत थालेका छन् ।  तत्कालीन एमालेभित्र पार्टीको बागडोर हातमा लिएपछि नै ओलीले नेपाल पक्षलाई जुनखालको व्यवहार देखायो र ज्यादती ग¥यो, त्यसले पक्कै पनि सामान्य राजनीतिक चेत भएका मानिसलाई पिडाबोध हुन्छ ।

प्रधानमन्त्री ओलीले अहिले आफ्नो कुरा नमानेको भन्दै आफ्नै सहकर्मीलाई अनुशासनको डण्डा लगाउने, कारवाही गर्ने, निष्काशन गर्नेसम्मको हर्कत शुरु गर्ने संकेतहरु देखा परेका छन् । ओली गुटले नेपाल पक्षका कोही कसैसँग पनि विचारका आधारमा व्यवहार गर्दैनन् । ओली र उनको गुटले नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुसँग गरेको व्यवहारले पनि उनीहरु कुनहदसम्म असहिष्णु छन् भन्ने पुष्टि भएको छ । परिस्थितीले एमाले ब्यूँताएपनि एकै पार्टीका नेता र कार्यकर्तालाई पार्टी अध्यक्ष ओलीले गरेको व्यवहार धेरै कार्यकर्ताले मन पराएका छैनन ।

महाधिवेशनमा ओलीको ज्यादीका विरुद्ध उभिने संख्या र जनमत बढ्दै जाने सरोकारवालाको भनाई छ । तर, तत्कालका हकमा हेर्दा ओली गुटले उठ्नै नसक्ने गरी नेपाल समूलाई पेल्ने, आत्मसमर्पण गराउने साजिस हुन सक्छ । सधै विधि, नैतिकताको विषयलाई प्रमुखताका साथ उठाउने नेपाल र उनको समूहले ओली गुटको कुन आधारमा र कुन हदसम्म कसरी प्रतिवाद गर्छ, त्यसले भावी राजनीतिक दिशा र गतिको तय गर्नेछ ।

माधव नेपालहरुले बृहद कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्नेछ । उनीहरुले अदालतको आदेशका भरमा फुटाइएको पार्टीलाई पुनः एकताबद्ध बनाउने नीति, कार्यक्रम र योजना बनाउनुपर्नेछ । ओली र उनको गुटले गर्दै आएको क्रियाकलाप तथा अराजकतालाई अन्त्य गरेर समाजवाद स्थापना गर्ने पार्टी निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्नेछ । झण्डै दुई तिहाई जनमत प्राप्त नेकपालाई जसरी ओलीले सिध्याए र सिध्याउनका लागि जुनखालको हर्कत गरे, त्यसको तत्काल नै प्रतिवाद शुरु गर्नुपर्ने राजनीतिक विश्लेषकहरुको ठहर छ । 

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने साहस माधव नेपालमा हुनुपर्छ । त्यसलाई कार्यान्वयनमा लैजानु जरुरी छ । ओलीहरु भत्काउन मात्रै जान्दछन् । ओलीहरु प्रतिगमनका मतियार हुन् । प्रतिगमनका विरुद्ध उभिने साहस नेता नेपालहरुले गर्नुपर्नेछ । रचनात्मक निर्माणका लागि प्रतिवद्ध  हुनुपर्नेछ । अब दुईवर्षपछि प्रतिनिधिसभाको निर्वाचन हुनेछ । त्यतिबेलासम्म जनतालाई पुनः विश्वासमा लिएर जनमत लिने दिशामा नेपालहरुले वातावरण बनाउनुपर्नेछ । 

यो कार्यभारलाई पूरा गराउन नेता नेपाल र उनको समूहले कस्तो सार्थक प्रयास गर्ला, त्यसले मात्रै आगामी दिनको नेपाली राजनीतिको दिशा तय गर्नेछ । अन्यथा, नेकपा फुटाएकामा खुसी मनाइरहेकाहरु नेपालमा थप अराजकता, राजनीतिक अस्थिरता सिर्जना गर्न उद्यत हुन्छन्  त्यसले कोही कसैको हित गर्नेछैन । 

प्रतिक्रिया दिनुहोस