अध्यादेश सदनमा पेश हुन नसकेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित

संसदमा सधैँ श्रद्धाञ्जलि दिएरै बस्ने ?

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, २१ : ०५
अध्यादेश सदनमा पेश हुन नसकेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सरकारले दर्ता गराएको अध्यादेश सदनमा पेश हुन नसकेकोप्रति आक्रोश पोखेका छन् । आज बेलुकी बालुवाटारमा आयोजित उद्योगी व्यवसायीको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा अध्यादेश अड्किएको विषयमा आक्रोश पोखेका हुन् ।

उनले उद्योगी व्यवसायीलाई रोजगारी, उत्पादन र निर्यात केन्द्रित उद्योग, कलकारखाना खोल्न आग्रह गर्दै सरकारले त्यसका लागि आवश्यक परेको खण्डमा ऐन संशोधन गर्न अध्यादेशसम्म ल्याउन सक्ने बताए । अध्यादेश ल्याउँदा अहिलेको जस्तो संसद श्रद्धाञ्जलि दिँदै उठ्ने अवस्था रहिरहेमा केही गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले यस्ता कुरामा बिलम्ब गर्न नहुने बताए ।

रोजगारी र उत्पादन दिने र निर्यात गर्ने खालका उद्योग स्थापना गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सुविधाको चिन्ता नगर्न उद्योगी व्यवसायीलाई आश्वासन दिए । ‘के सुधार गर्नु पर्‍यो । यसका लागि ऐन संशोधन गर्न विधेयकका रुपमा ल्याउन पनि सरकार तयार छ । उनले भने, ‘देश विकासका लागि जरुरी पर्‍यो भने अध्यादेश पनि ल्याइन्छ । अध्यादेश संविधानसम्मत कुरा हो ।’

आवश्यक परेका कुरामा बिलम्ब गर्न नहुँने भन्दै उनले भने, ‘छ महिना संसद यस्तै श्रद्धाञ्जलि दिँदै उठ्दै गर्ला । उद्योगलाई चाहियो भने हामीले उद्योगलाई अगाडि बढाउनु परेन ?’ प्रधानमन्त्री ओलीले अटो मोबाइल सम्बन्धी व्यवसायीले राखेका गुनासोलाई उदृत गर्दै आयात भन्दा पनि निर्यात गर्ने गरी नेपालमै गाडी उत्पादन गर्न आग्रह गरे ।

नेपालमै गाडी उत्पादन गरे सरकारले भारी सहुलियत दिने उनको भनाइ थियो । ‘सोचेको भन्दा बढी सुविधा दिइने छ ।’ उनले भने, ‘त्यसले रोजगारीको अवसर दिन्छ, उत्पादन हुन्छ र आयात प्रतिस्थापन गर्छ । यसले हाम्रो डलर बच्यो । बचत बच्यो ।’

प्रतिक्रिया दिनुहोस