पर्यटकीय गन्तव्य चिनाउन ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेला

रासस

शुक्रबार, ०६ चैत्र २०७७, १५ : ३९
पर्यटकीय गन्तव्य चिनाउन ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेला

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन तथा पर्यटकीय गन्तव्यको भ्रमणमा प्रेरित गर्ने उद्देश्यले इटहरीमा ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेला आयोजना गरिएको छ ।प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटा नेपाल च्याप्टरको सहयोगमा यही मार्च १३ मा आयोजित मेलामा प्रिमियर होटेल स्कूलमा अध्ययनरत विद्यार्थीले तयार गरेका स्वदेशी तथा विदेशी गरी १० भन्दा बढी खाद्य परिकारका स्टल राखिएका थिए ।

जिल्ला होटेल व्यवसायी तथा पर्यटन सङ्घ सुनसरीको आयोजना तथा प्रिमियर होटेल स्कूलको व्यवस्थापनमा सम्पन्न उक्त मेलाको प्रदेश नं १ का विभिन्न क्षेत्रबाट आएका करीब पाँच हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फेस्टिबलको आयोजनाले पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा प्रवाह गर्नाका साथै प्रदेश १ को संस्कृति तथा खानपिनको समेत प्रवद्र्धन गर्न ठूलो सहयोग पु¥याउने र युवा विद्यार्थीको प्रतिभा परिष्कृत गर्ने अवसर प्रदान गरेको विश्वास व्यक्त गरे ।

साथै उनले  नेपालको संस्कृति तथा खानालाई विश्वमाझ चिनाई देशको शान बढाउन तथा पर्यटन प्रवद्र्धनका लागि नयाँ आयाम थप गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताए।

नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले बोर्डद्वारा आन्तरिक पर्यटन प्रवद्र्धन र विकासका लागि प्रस्तावित पहल तथा भावी योजनामा सक्रिय सहभागिता र सहयोगका लागि अपिल गर्नुभएको पाटा नेपालले आज विज्ञप्तिमार्फत जनाएको छ । 

स्थानीय जनशक्तिको दक्षता तथा कौशलता प्रदर्शन गर्ने लक्ष्यका साथ आयोजित मेलाका संयोजक एवम् प्रिमियर होटेल स्कूलका सिइओ सुनिल भुसालले आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय जनशक्तिहरुको दक्षता तथा कौशलता प्रदर्शन गर्ने उपयुक्त माध्यमका रुपमा सो मेलाको आयोजना गरिएको बताए ।

पाटा नेपालका कोषाध्यक्ष खेम लकाईले प्रदेश १ को दिगो पर्यटन विकास र प्रवद्र्धनका लागि राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रियरुपमा स्थापित पाटा सञ्जाल र सम्बन्धमार्फत पाटा नेपाल च्याप्टरले आवश्यक सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस