आफूले अभिभावकत्व ग्रहण गरेको ठिल्लेबारे प्रधानमन्त्री बेखबर,  अभावका कारण ठिल्ले विद्यालय जानै छोडिन्

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, ११ : २९
आफूले अभिभावकत्व ग्रहण गरेको ठिल्लेबारे प्रधानमन्त्री बेखबर,  अभावका कारण ठिल्ले विद्यालय जानै छोडिन्

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाए। तर खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी हुन् ।

अभाव र तनावका कारण निकै तीक्ष्ण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुंगिने चिन्तासमेत बढेको छ । यसले अभिभावकत्व ग्रहण गरिएका बाँकी बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ । मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोग गाउँपालिका–८ मा रहेकी प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व घोषणा गरेका छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुलेसाथीभाइबाट हेपिन पुगेकी छन् ।

कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगी लामालाई अभिभावकत्व ग्रहण गरेका हुन् । तर अहिले २ वर्ष बितिसक्दा पनि पढाइ खर्चलगायत गाँस, बास, कपास प्रतिबद्धता व्यक्त गरेअनुरुप सहयोग नगर्दा पछिल्लो समय लामालाई अध्ययनमा समेत समस्या भएको छ भने विद्यालय जाँदा प्रधामन्त्रीकी छोरी भनेर साथीभाइले जिस्क्याउने गरेका छन् ।

लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । उनको दिमाग तीक्ष्ण भए तापनि पठनपाठनमा आवश्यकता पर्ने स्टेसनरीका सामान कापी, कलम, नहुँदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ ।यता बुद्ध माध्यमिक विद्यालय माग्री गाउँका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले लामाका अभिभावकसँग बुझ्दा दुईपटक मात्र सहयोग गरेको तर बाँकी सहयोग कुनै निकायबाट समेत नभएको बुझिएको बताए । 

प्रतिक्रिया दिनुहोस