कोरोना खोप किन्न विश्व बैंकले नेपाललाई सहयोग गर्यो ८ अर्ब ७० करोड

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, ११ : २१
कोरोना खोप किन्न विश्व बैंकले नेपाललाई सहयोग गर्यो ८ अर्ब ७० करोड

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न तथा महामारी नियन्त्रण गर्न  विश्व बैंकले नेपाललाई  ८ अर्ब ७० करोड रुपैंया वित्तीय सहयोग गर्ने भएको छ ।

बैंकको कार्यकारी बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै कोभिडविरूद्धको खोप वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो।

यो रकमले कम्तिमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने बैंकले जनाएको छ । नेपाल, श्रीलंका र मल्दिभ्सका लागि विश्व ब्यांकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालका कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि बैंकले यो सहयोग गर्न लागेको बताएका छन् ।

 यो वित्त सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड–१९ का खोपहरूको खरिद तथा खोप विस्तार गर्नमा परिचालित हुने बैंकले जनाएको छ। बाँकी रकमले परीक्षण, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत गरिनेछ ।

नेपालको लागि यो अतिरिक्त वित्त सहयोग दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड–१९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजनामध्ये एक हो। 
 

प्रतिक्रिया दिनुहोस