केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्ने

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १५ : १०
केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । 

नेकपा(एमाले) माधव समुहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा(एमाले)का नेता भिम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उदेश्यका साथ राष्ट्रिय भेला गरिएको बताए  ।

भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनको भनाई छ । वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने कुरामा आफुहरुको जोड रहेको पनि उनले बताए ।

नेकपा(एमाले) का नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनकोे भनाई छ ।

नेकपा(एमाले) का नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफुहरु सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए ।

नेकपा(एमाले)कि नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताए । नेकपा(एमाले)लाई एकताबद्ध बनाउन ओलीको भुमिका हुनुपर्ने उनको भनाई छ ।

नेकपा(एमाले)का नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गिय दृष्टिकोण छोडेको आरोप लगाए । ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाई छ ।

नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफुहरु पनि गल्ती सच्याउन तयार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस