प्रधानमन्त्री ओलीको चाहना : फेरी प्रतिनिधिसभा विघटन

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, ०७ : ४३
प्रधानमन्त्री ओलीको चाहना : फेरी प्रतिनिधिसभा विघटन

काठमाडौँ । सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनःस्थापनापछि पनि प्रतिनिधिसभा चल्न नसकेको कारण उल्लेख गर्दै फेरि निर्वाचनमा जान सकिने धारणा राखेका हुन् । 

अन्य राजनीतिक दलका नेताले प्रतिवाद गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको भनाइको बचाउ गरेकी थिइन् । ‘चुनावमा जाने कुरा लोकतान्त्रिक हो, यसलाई नकारात्मक रूपमा लिन भएन,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर निर्वाचनमा जानेरनजाने तपाईंहरूले नै निर्णय गर्ने हो ।’

प्रधानमन्त्रीको भनाइमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठाडै प्रतिवाद गरेका थिए । उनीहरूले राजनीतिका यस्ता विषयमा छलफल गर्ने थलो शीतल निवास नभएको उल्लेख गर्दै संसद्बाट निकास खोज्नुपर्ने बताएका थिए । राजनीतिक दलहरूबाट नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्रै प्रधानमन्त्रीको भनाइमा समर्थन जनाएका थिए । जनता समाजवादी पार्टीका नेताहरूले भने यस विषयमा कुनै प्रतिक्रिया दिएनन् ।

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठका अनुसार राष्ट्रपति भण्डारीले आफू बंगलादेश भ्रमणमा जान लागेको जानकारी गराउँदै कोभिडका कारणले भेट्न नपाएको पृष्ठभूमि जोड्दै दलहरूबीचको हार्दिकता र सद्भावका लागि आफूले चियापान राखेको सुरुमै बताएकी थिइन् । लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता श्रेष्ठले राष्ट्रपतिलाई बंगलादेश भ्रमणका लागि सफलताको शुभकामना दिएपछि नेताहरू बैठकबाट उठ्न खोजेका थिए । ‘कोही बोल्न नचाहेपछि हामी सबै उठ्न खोजेका थियौं, प्रधानमन्त्रीले मेरो केही भन्नु छ भनेर बोल्न थाल्नुभयो ।

सर्वोच्च अदालतको निर्णयलाई कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्रीले पुस ५ गते प्र्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदमलाई संविधानसम्मत भएको, अदालतले पुनःस्थापना गरे पनि प्र्रतिनिधिसभा परिणाममुखी हुन नसकेको र सहमतिअनुसार नै फेरि प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने कुरा गर्नुभयो,’ श्रेष्ठले भने, ‘उहाँले विघटन गर्ने प्रावधान छ, सल्लाह गर्दै जाऔं भन्नुभएपछि मैले र रामचन्द्र पौडेलजीले प्रतिवाद गर्‍यौं ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस