भोलि झुल्कने घाम

सोमबार, १२ चैत्र २०७४, १५ : ३१
भोलि झुल्कने घाम

भरतपुर महानगरपालिका वडा नम्बर चार निवासी

युवाकवि विवेकी प्रगतिशील साहित्यिक फाँटका उदीयमान प्रतिभा हुन् ।

साहित्यमा तीन दशकदेखि साधनारत कवि विवेकी कवितासँगै निबन्ध, गीत र गजल पनि लेख्छन् ।

पछिल्लो समय साहित्यिक जमघटमा विरलै देख्न पाइने कवि विवेकीको

एउटा कविता यहाँ प्रस्तुत छ :

 

भोलि झुल्कने घाम

- विवेकी
भरतपुर ४, चितवन

म पर्खिरहेछु
भोलि झुल्कने घाम

थाहा छैन
कुन सौन्दर्य लिएर झुल्कन्छ त्यो ?
मान्छेहरु
त्यसको आभामा कत्तिको रमाउँछन् ?
प्रथम स्पर्शमै कत्तिको पुनर्ताजगी पाउँछन् ?
युगौँदेखिको माकुरे जालो कत्तिको च्यातिन्छ ?
मोचन हुन बाँकी
यो सँस्कृतिको दलदलबाट
अमलेख हुन बाँकी
यी निराकार भविष्यको भ्रम च्यातेर
खई कसरी झुल्कन्छ त्यो घाम ?
जिज्ञासु भावमा छु म

हार्दिकता हराएको यो समय
कुरुप भीडलाई नचिरी
तमासको भारी बोकेर
कसैगरी झुल्कन्न घाम
आफ्नै कान्तितेज हराएर
हो,
भोलि उदाउने घाम
झुल्कन्न ग्रहण लागेको आकाशमा

भूगोलभरी
स्वागतका आँखा फैलाएर
पलप्रतिपल पर्खिरहेछु नयाँ घाम
जसले लिएर आउँछ भन्ने विश्वास छ
जगतै रमाउने दुर्लभ दृश्य
जागरणको नयाँ लहर
नयाँ उमंगमा

म हेर्न लालायित छु
नयाँ घाममा
युगभरी लागेको
अभिमान र अपमानको दाग
सर्लक्कै पखालिएको

चम्किएको कर्मशीलका अनुहार
म हेर्न उत्सुक छु
भ्रमको उचाइमा रमेकाहरु सतहमा झरेको
सतहमा दबेकाहरु माथि उठेको
कतै बाजी हारेकाहरु
कतै नांगो पाइलामै उत्सव मनाएकाहरु ।

प्रतिक्रिया दिनुहोस