काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि नेपाली कांग्रेस आउनुपर्ने बताए ।
उनले भने, ‘सम्भव हुन्छ, सकिन्छ भने यही पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनुपर्ने छ र नेपाली कांग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने अहिले हामीले सरकार बनाएर, हामिले छ, आठ महिना, एक वर्ष चलाएर जतिपनि प्रधानमन्त्री ओलीले हाम्रो संविधानमा, व्यवस्थामा भ्वाङ पार्नुभएको छ । ति भ्वाङहरु टाल्ने काम गरेर, देशलाई निर्वाचनमा लिएर गएर त्यो निर्वाचनबाट हामीले एकपटक फेरी नयाँ जनादेश प्राप्त गरेर पाँच वर्ष नेपाली कांग्रेसले जनताका बीचमा केही कुराहरुको संकल्प गरेर ती संकल्पहरु पुरा गर्ने काम हामीले गर्नुपर्छ ।’
नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको भएपनि संकटको बेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको उनकोे भनाई छ । सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्याण्डेड सकिएको उल्लेख गर्दै नेता थापाले संसदमा सरकार चलाउने माण्डेड पाएको पार्टी नरहेको टिप्पणी गरे । नेपाली कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकाश दिनुपर्ने उनको भनाई छ ।
उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीको नाममा जुन म्याण्डेड उहाँहरुले पाउनुभयो, त्यो माण्डेड अस्तिको सर्वोच्च अदालतको फैसला र त्यो फैसलालाई उहाँहरुले स्वीकार गरिसकेपछि सकियो । त्यसैले यो संसदमा सरकार चलाउने म्याण्डेड पाएको पार्टी छैन । हामीले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको तर यो क्राइसिसको बेलामा अब हामीले सम्हाल्नुपर्ने छ । हामीले सम्हालेर यसलाई निकास दिने, निकास दिएर देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्ने ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने उनको भनाई छ । प्रधानमन्त्री ओलीलाई शासन सत्ता दिइराख्नाले नेपालमा नाम मात्रैको चुनाव गराउने नेता थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा