प्रधानमन्त्री र राष्ट्रपतिको सुरक्षा अस्वाभाविक तरिकाले बढ्दै ,  पूर्व प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिको सुरक्षामा कटौती

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १४ : ३३
प्रधानमन्त्री र राष्ट्रपतिको सुरक्षा अस्वाभाविक तरिकाले बढ्दै ,  पूर्व प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिको सुरक्षामा कटौती

काठमाडौँ । मन्त्रिपरिषद्ले विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–०७० लाई खारेज गरेर नयाँ कार्यविधि लागू गरेको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ ले यसअघि पूर्व प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिको सुरक्षा कटौती गरेको छ । तर प्रधानमन्त्री र राष्ट्रपतिको सुरक्षा चाहिँ अस्वाभाविक तरिकाले बढाइएको छ ।

२०७७ मङ्सिर ७ मा मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा सैनिक मात्रै २ सय जना खटिन्छन् । प्रधानमन्त्रीलाई नेपाली सेनाका अधिकारीले तीनवटा घेरा बनाएर सुरक्षा दिन्छन् । चौथो घेरामा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिएका छन् ।

प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीका डीएसपी र दुई जना इन्सपेक्टरसहित ६२ जना प्रहरी खटाउने व्यवस्था कार्यविधिमा छ । तर प्रधानमन्त्रीले सो कार्यविधिसमेत मिचेर १ सयभन्दा बढी प्रहरी कर्मचारीलाई आफ्नो सुरक्षामा प्रयोग गरेका छन् ।

कार्यविधिले तेकेअनुसार नै प्रधानन्त्रीको सुरक्षामा ३ सयभन्दा बढी सुरक्षाकर्मी खटिएका हुन्छन् । 

प्रधानमन्त्री अनौपचारिक रूपमा हिँड्दा सुरक्षा अधिकारीका ७ वटा सवारी साधनले सुरक्षा दिन्छन् ।संशोधित कार्यविधिअनुसार प्रधानमन्त्री हिँड्दा सबैभन्दा अगाडि प्रहरीको वार्निङ मोटरसाइकल हुन्छ । प्रहरीको अगुवा जिप र विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयको टिम सवार जिपभन्दा पछि प्रधानमन्त्री चढ्ने गाडी हुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षामा नेपाली सेनाका २ सय ७५ सुरक्षाकर्मी खटिन्छन् । सशस्त्र प्रहरी बलका १० जना र नेपाल प्रहरीबाट १४ जना सुरक्षाकर्मी खटाउने गरी मन्त्रिपरिषद्ले कार्यविधि संशोधन गरेको छ ।

‘क’ श्रेणीको सुरक्षा पाउने भीभीआईपीको नजिकको घेरा, भित्री घेरा र मध्य घेरामा नेपाली सेनाको टिमले सुरक्षा दिन्छन् । बाहिरी घेरामा अन्य सुरक्षा निकायका अधिकारी रहन्छन् ।

प्रतिक्रिया दिनुहोस