कौसीखेती लाई प्रोत्साहन गर्दै शुक्लागण्डकी

रासस

शुक्रबार, २८ फागुन २०७७, १३ : ५५
कौसीखेती लाई प्रोत्साहन गर्दै शुक्लागण्डकी

तनहुँ । शुक्लागण्डकी नगरपालिका–४ स्थित दुलेगौडा बजारवासीलाई कौसीमा तरकारी फलाउन वडा कार्यालयले सघाउँदै आएको छ । करीब ८०० परिवारलाई कौसीखेतीका लागि प्रोत्साहन गर्न तरकारीका बिरुवा वितरण गरिएकोे वडा सचिव कल्पना गैरे सुवेदीले जानकारी दिईन् ।

लहरेबाली काँक्रो, घिरौँला र करेलाका बिरुवा टोल विकास संस्थामार्फत् प्रत्येक घरलाई उपलब्ध गराएको उनले बताईन् । उनका अनुसार बिरुवासँगै कोकोपिटसमेत उपलब्ध गराइएको छ । गत वर्ष पनि वडावासीलाई तरकारीका बिरुवा र प्लाष्टिकका गमला वितरण गरिएको थियो ।

वडाबाट बिरुवा लगेर कौसीमा तरकारी फलाउनेमध्ये उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताईन् । “वडावासीलाई घरमै तरकारी फलाएर उपभोग गर्न प्रोत्साहन गरेका छौँ”, वडाध्यक्ष श्रेष्ठले भनिन्, “कौसीमा तरकारी फलाएर परिवारलाई मात्र पु¥याए पनि स्वाथ्यका लागि फाइदा हुन्छ ।” 

निर्यात घटाएर अर्थतन्त्रलाई सघाउन खोजेको उनको  भनाइ छ । बजारबाट पैसा तिरेर विषादीयुक्त तरकारी खरीद गर्ने बानीको अन्त्य हुनुपर्नेमा श्रेष्ठको जोड छ । वडाले सघाउन थालेपछि दुलेगौँडा बजारमा कौसीमा तरकारी फलाउने बढेका छन् । वडा कार्यालयले चालू आर्थिक वर्ष २०७७/०७८ मा कौसीखेतीका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस