मकवानपुरमा ८० प्रतिशत निजी आवास पुनः निर्माण

रासस

शुक्रबार, २८ फागुन २०७७, १३ : ४५
मकवानपुरमा ८० प्रतिशत निजी आवास पुनः निर्माण

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो ।

नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्ताबापतको अनुदान रकम बुझिसकेका नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए  ।

नगरपालिकामा भूकम्पबाट सात हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेको थियो । तीमध्ये ६ हजार ५७१ ले पुनःनिर्माणका लागि सम्झौता गरेका थिए ।

१२ वटा वडा रहेको नगरपालिकामा वडा नं ८ मा सबैभन्दा बढी निजी आवास पुनःनिर्माण भएको नगरपालिकाका प्रमुख  विष्टले जानकारी दिए  । सो वडामा ९२ प्रतिशत निजी आवास पुनःनिर्माण सकिएको छ । 

त्यसैगरी सबैभन्दा कम मात्रामा निजी आवास पुनःनिर्माणको काम वडा नं ४ मा भएको छ । सो वडामा ५७ प्रतिशतमात्र निजी आवासको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

नगरपालिकामा पूर्ण क्षतिको लाभग्राही सूचीमा परेकामध्ये हालसम्म ५२७ भूकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन् । उनीहरुका लागि सम्झौता अवधि समाप्त भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस