सिटामोलसमेत नपाइने गाउँमा विशेषज्ञ सेवाः स्थानीयवासी खुशी

रासस

शुक्रबार, २८ फागुन २०७७, १३ : १८
सिटामोलसमेत नपाइने गाउँमा विशेषज्ञ सेवाः स्थानीयवासी खुशी

कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ । सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो । हरेक क्षेत्रमा पछाडि परेको पलाँता गाउँपालिकामा अहिले शल्यक्रियासहितको विशेषज्ञ सेवा दिन थालिएको छ । 

नेपाल सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजनासहित अस्पतालको शिलान्यास भएपछि गाउँमा नै विशेषज्ञ सेवा दिन थालिएको हो ।

गाउँमा पहिले ज्वरो आउँदा सिटामोलसमेत नपाइने गरेको अहिले गाउँमा नै चिकित्सकसहित विशेषज्ञ सेवा सञ्चालन आएपछि सजिलो भएको पलाँता गाउँपालिका–९ का राजबहादुर बमले बताए ।

“पहिलो औषधि नाममा सिटामोलसमेत पाइँदैनथ्यो । जडीबुटी र धामीझाँक्रीको भर पर्नुपथ्र्यो”, उनले भने , “अहिले गाउँमा डाक्टरसहितको विशेषज्ञ सेवा सञ्चालन आएपछि सहज भएको छ ।”

गाउँ जटिल खालका बिराम लागेर बसेकाहरुले अहिले औषधि उपचारका लागि स्वास्थ्य सेवा कार्यालयमा आउन थालेको र गाउँ नै शल्यक्रियासहितको उपचार हुन थालेको स्थानीय नरबहादुर रोकायाले बताए ।

“घाउ खटिरा आउँदा पनि उपचार पाएका थिएनौँ”, उनले भने, “अहिले गाउँमा नै विभिन्न रोगको सहजै उपचार पाउने गरेका छौँ ।”सामान्य बिरामी हुँदा सिटामोलसमेत नपाउने गरेको ठाउँमा अहिले विशेषज्ञ सेवा सञ्चालन गरिएको पलाँता अस्पतालका डा विजयकुमार महतोले बताए ।

“दुर्गम ठाउँ भएकाले  स्थानीयवासीले सिटामोलसमेत पाउने गरेका थिएनन्”, उनले भने “अहिले जटिलखालका बिरामीको शल्यक्रिया गर्न थालेका छौँ ।”विगतमा सामान्य ज्वरो आउँदा पनि जिल्ला सदरमुकाम मान्म र बाहिरी जिल्लामा जानुपर्ने बाध्यता अहिले हटेको स्थानीयवासी रामबहादुर बिकले बताए । 

प्रतिक्रिया दिनुहोस