पेरुका पूर्वराष्ट्रपतिलाई १८ महिनासम्म प्रतिबन्ध

एजेन्सी

आइतबार, ११ चैत्र २०७४, १४ : ३७
पेरुका पूर्वराष्ट्रपतिलाई १८ महिनासम्म प्रतिबन्ध

पेरुको न्यायिक निकायका अधिकारीहरुले पूर्व राष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई कम्तीमा पनि १८ महिना सम्मका लागि देश छोड्न प्रतिबन्ध लगाएका छन् ।  भ्रष्टाचारको अभियोग लागेका पूर्व राष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको एकजना न्यायाधीश जोन कार्लोस सान्चेजले शनिबार जानकारी दिए ।

उनलाई ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेचसँग घुस लिएको र अनियमितता गरेको आरोप लगाई अनुसन्धान भइरहेको छ ।  पूर्व राष्ट्रपति पेड्रोलाई लिमामा रहेको उनको निवासस्थल र देशको ग्रामीण क्षेत्रमा पर्ने सिएनेगुल्लामा नै बस्न दिइने भएको छ । शनिबार पनि उनलाई त्यहीँ राखेर अनुसन्धान गरिएको छ ।

पेरुको संसदमा बुधबारका लागि तय गरिएको उनी विरुद्धको महाभियोगसम्बन्धी दोस्रो चरणको मतदान कार्य सुरु हुनुअघि ७९ वर्षीय पेड्रोले पदबाट राजिनामा दिएका थिए ।  उनलाई नैतिक रुपमा अयोग्य ठहरगर्दै यहाँको संसदले बुधबार महाभियोग प्रस्तावमा मतदान गर्ने तयारी गरिरहेको थियो । त्यस अगावै उनले पदबाट राजीनामा दिए ।

आफू विरुद्ध गरिएको खानतलासीको विरुद्धमा प्रतिक्रिया दिँदै उनले ट्वीटरमा लेखेका छन्, “देशको प्रतिष्ठामा नै आँच आउनेगरी भइरहेका कामकारबाही तत्काल रोक्न म सरकारलाई आग्रह गर्दछु र सञ्चारमाध्यमहरुलाई पनि मेरो यही आग्रह छ ।”  उनले आफू डराउनुपर्ने कुनै कारण नरहेको बताउँदै भनेका छन्– म डराउनुपर्ने केही कारण छैन र अनुसन्धान अधिकारीहरुलाई मैले सहयोग गर्नछु । -एजेन्सी

प्रतिक्रिया दिनुहोस