जसपाको माग सम्बोधन गर्न सरकार सकारात्मक छ : सुवास नेम्वाङ

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, १५ : ०५
जसपाको  माग सम्बोधन गर्न सरकार सकारात्मक छ : सुवास नेम्वाङ

काठमाडौं ।  नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता समाजवादी पार्टी जसपाको  माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

जसपा नेताहरुले सांसद रेशम चौधरीलगायतलाई रिहा गर्न माग राखेको भन्दै नेम्वाङले त्यसबारे कानुन बमोजिम अगाडि बढ्ने बताए ।बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले भने, ‘अहिले जसपाका नेताहरुले विशेषतः रेशम चौधरी लगायत मधेस आन्दोलनको सन्दर्भमा भएका जुन मुद्दा मामिलाहरु छन्, त्यसमा उहाँहरु गम्भीर हुनुहुन्छ, त्यसलाई फिर्ता गर्नुपर्‍यो, रिहाइ गर्नुपर्‍यो भनेर उहाँहरुले माग गर्नुभएको छ । त्यसबारेमा सरकार सकारात्मक छ, सरकार गम्भीर छ भनेर हामीले भनेका छौं ।’

माग पूरा गर्नु हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘सदासर्वदा त्यसबारेमा सरकार सकारात्मक नै हो । अहिले पनि सरकार सकारात्मक छ ।’ उनले जसपाले राखेका मागमा कानुन बमोजिम अगाडि बढ्ने बताए ।

नेम्वाङले जनता समाजवादी पार्टी जसपासँग सत्ता साझेदारीका लागि कार्यदल नबनेको दाबीसमेत गरे । तर जसपासँग निरन्तर कुराकानीमा रहेको उनले बताए । नेम्वाङले भने, ‘तपाईंहरुको जानकारीका लागि आजै पनि यता आउनु अगाडि उहाँहरुसँग छलफल भएको थियो ।’

जसपा संसदीय दलको मंगलबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न कार्यदल गठन भएको जानकारी गराएका थिए । कार्यदलमा जसपा नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् । यद्यपि यो कार्यदल सत्ता समीकरणका लागि नभएको दाबी ठाकुर पक्षले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस