राष्ट्रपति बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

एजेन्सी

बुधबार, २६ फागुन २०७७, १४ : ०९
राष्ट्रपति बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लाग्नु भएको छ । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ । 

भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रुपमा लिइएको छ । 

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै हिन्द–प्रशान्त इन्डो–प्यासिफिक क्षेत्रका गठबन्धन एवं साझेदार मुलुकसँगको निकट सहयोगलाई अमेरिकाले निकै महत्व दिएको सन्दर्भमा राष्ट्रपति बाइडेनले यो भर्चुअल बैठक गर्न लागेको बताए । 

चीनसँगको बढ्दो तनाबकै बीच “क्वीड” का नामले चिनिने इन्डो–प्यासिफिकका प्रमुख मुलुकहरुबीच व्यापार र सुरक्षालाई ध्यानमा राखेर छलफल हुनेछ । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाइडेनले गठबन्धनको क्षमतालाई अर्को स्तरमा माथि लैजान खोज्नु भएको विश्वास व्यक्त गरे ।

“यो हाम्रो क्षेत्रका लागि ऐतिहासिक क्षण हो र यसले एउटा सार्वभौम, स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रमा हाम्रो सहयोगको आवश्यकताका बारेमा बलियो सन्देश दिनेछ,” प्रधानमन्त्री मरिसनले संवाददातहरुसँग भने।

प्रेस सचिव साकी र भारत दुबैले भर्चुअल बैठकका अवसरमा जलवायु परिवर्तन र कोभिड–१९ महामारीका विषयमा पनि छलफल हुने बताएका छन् । यी दुबै क्षेत्र बाइडेनका लागि प्रमुख प्राथमिकताका क्षेत्र हुन् । प्रेस सचिव साकीले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा भाग लिने घोषणा गरेका थिए । 

बैठकमा अमेरिकी अधिकारीहरुले म्यान्मार मामिलामा जापान र भारतले नरम नीति लिएको विषयमा चासो राखेका थिए । हाल जापान र भारतसँग म्यान्मारको मैत्रीपूर्ण सम्बन्ध रहेको छ । विगतमा चीनले म्यान्मारको सैनिक शासनलाई हरसम्भव सहायता गर्ने गरेको थियो ।

तर, क्वीडका विदेश मन्त्रीहरुले चीनका बारेमा कुनै विशेष सम्बोधन गरेका थिएनन् । सन् २००७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको अग्रसरतामा क्वीड स्थापना गरिएको थियो । (रासस–एएफपी )

प्रतिक्रिया दिनुहोस