काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् ।
पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रिने गरेका हुन् । कोरोना तथा चिनियाँ पक्षको अवरोधका कारण धेरै समय नाका बन्द भएका थिए ।
चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक सात कन्टेनर सामग्री आयात हुँदै आएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।पछिल्लो समय रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युत्का लागि आवश्यक सामग्री आएको बताए ।
उनका अनुसार पछिल्ला केही दिनयता उल्लेख्यरूपमा आयात भए पनि साविकमा जस्तो सहजरूपमा आयात भएको छैन । नाकामा कार्यरत सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको उनी बताउछन् ।
“हामीले नाकामा कार्यरत २०० भन्दा बढी कर्मचारीलाई गत महिना नै पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाइसकेका छौँ । नाकामा कार्यरत श्रमिकलाई स्वास्थ्य सुरक्षा अपनाउँदै छुट्टै राखेका छौँ । कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा अझै समस्या हुने गरेको छ”, उनले भने , “रसुवा जिल्ला नै दुई महिनायता कोरोना सङ्क्रमणमुक्त हुँदासमेत चिनियाँ पक्षको अवरोध कम भएको छैन ।
जति प्रयास गरे पनि चिनियाँ पक्षको विश्वास जित्न नसक्दा आयातमा अवरोध हुने गरेको छ ।” कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २६ फागुन २०७७, १० : ३१
लेखकबाट थप