संसद बाहिरका पार्टीहरूसँग सहकार्य गर्दै विवेकशील साझा

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १६ : ४६
संसद बाहिरका पार्टीहरूसँग सहकार्य गर्दै विवेकशील साझा

काठमाडौं । संघीय संसद बाहिरका पार्टीहरूसँग विवेकशील साझा पार्टीले सहकार्यको पहल थालेको छ। मंगलबार दिउँसो विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा उक्त विषयमा छलफल गरेको हो ।

विवेकशीलले आयोजना गरेको १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी विभिन्न १५ वटा राजनीतिक दलका नेतृत्वले देशको विद्यमान राजनीतिक परिस्थिति, चुनौती र त्यसको सामना गर्नका लागि एक ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता माथि विस्तृत छलफल गरे।

बैठकमा विवेकशील साझा पार्टी, नेपाली कांग्रेस ‘बिपी’, समाजवादी कांग्रेस नेपाल, जनजागरण पार्टी नेपाल, युवा शक्ति पार्टी, मौलिक जरो किलो पार्टी, नेपालवाद पार्टी, न्यु पिपुल्स पार्टी, आधुनिक नेपाल पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, समाजवादी लोकतान्त्रिक पार्टी, गान्धीवादी पार्टी नेपाल, प्रगतिशील पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टीका नेतृत्वको सहभागिता थियो ।

छलफल र संवादको क्रमलाई अघि बढाउनुपर्ने कुरामा सहभागी सबै पार्टीहरूको सहमति भएको विवेकशील साझा पार्टी राजनीतिक संवाद समितिका संयोजक केशव दाहालले बताए ।
 

प्रतिक्रिया दिनुहोस