उमेरले नछेकेको रहर

रासस

मंगलबार, २५ फागुन २०७७, १६ : ०१
उमेरले नछेकेको रहर

सांकेतिक तस्वीर

कावासोती । “पहिले छोरीचेलीलाई पढाउने चलन थिएन, पढ्ने विद्यालय पनि नजिक हुँदैनथ्यो त्यसैले पढ्ने रहर मार्नु पथ्र्यो, आज त्यही रहर पूरा गरिरहेको छु”, ६७ वर्षीय प्रेमकुमारी पौडेलले  भनिन् । सानोमा विद्यालय देख्न नपाएको बताउने उनी अहिले बिहान ११ बज्नै लाग्दा झोलामा किताब कापी लिएर विद्यालयमा पढ्न निस्कनु दैनिकी बनेको छ ।

कावासोती नगरपालिका–२ मा शिव सामुदायिक सिकाइ केन्द्रले सञ्चालन गरेको गृहिणी शिक्षा (अनौपचारिक प्रौढ शिक्षा) मा अध्ययन गर्न उनी जस्तै अन्य महिला पनि आउने गरेका छन् । अध्ययन गर्ने उमेरमा विभिन्न कारणले नपाएका गृहिणी बिहान ११ देखि ३ बजेसम्म यहाँ रहन्छन् । अहिले पढ्ने मौका पाउँदा धेरै खुशी लागेको पौडेलले बताइन् । 

दुई वर्षदेखि यहाँ पढन थाएकी उनले अहिले छोराछोरीको नाम अङ्गे्रजीमा लेख्न, मोबाइलमा पैसा राख्न, सजिव, निर्जीव वस्तु चिन्न सक्दा दङ्ग छन् । “मलाई अहिले आफू बच्चै भएको जस्तो लागेको छ, खुशी लागेको छ, घरबाट हिँडेर आउनसक्ने बेलासम्म र सिकाइ केन्द्रमा पढन पाउँदासम्म आउछु”, पौडेलले भनिन्,“बच्चामा पढन् नपाएको रहर मेटिएको झैँ लागेको छ, अहिले तिर्खा यही पढाइले मेटे जस्तो हुन्छ ।”

स्याङ्जा सतुङ्गा जन्मिएकी उनी त्यति बेला गाउँमा ५ कक्षा सम्मको विद्यालय भएको भए पनि छोरालाई पढाउने, छोरीलाई नपढाउने चलन रहेको सम्झन्छिन् ।  “छोरी त कोदो रोप्ने, घाँस, दाउरा गर्ने, गाई बस्तु चराउने यस्तै गर्नुप¥यो, दाजुभाइ स्कुल जानुहुन्थ्यो”, पौडेलले भनिन् ।

त्यस्तै ६५ वर्षीय चन्द्रमाया सिग्देललाई पनि सानोमा पढ्न नपाएर अहिले अक्षर चिन्न पाउँदा धेरै खुशी लागेको बताइन् । “विद्यालय टाढा हुन्थ्यो,  छोरीलाई पढाउन पठाउने चलननै कम थियो”, सिग्देलले भनिन्,“ अहिले कतै जाँदा के लेखेको छ भनेर चिन्न सक्ने भएकाले सजिलो भएको छ । कतै गए कहाँ आइएछ भनेर ठाउँ चिन्न सकिन्छ”, सिग्देलले भनिन्, “खुशी लाग्छ ।”

पौडेल र सिग्देल जस्तै यहाँ कावासोतीका करीब ४२ गृहिणी भर्ना भएका छन् । यहाँ तीन तहको पढाइ हुने सिकाइ केन्द्रकी परिचालक नूतन थापा पुनले बताइन् । भर्ना भएकोमा केही  समय मिलाएर फुर्सदमा आउने गरेको भए पनि करीब २५ जना नियमितजसो आउने गरेको उनले बताइन् । 

नगरपालिकाको सहयोगमा अहिले कक्षा सञ्चालन भइरहेको छ । यसले विद्यालय उमेर पुगेर पनि विद्यालय जान नपाएकालाई अध्यन गर्न  सहज बनाएको छ ।

प्रतिक्रिया दिनुहोस