दमौली ।तनहुँको सबैभन्दा अग्लो स्थानको छिम्केश्वरी माई मन्दिर दर्शन गर्ने भक्तजन बढ्न थालेका छन् । कोरोनाले सुस्ताएको सो मन्दिरमा यतिबेला दैनिक भक्तजनको उपस्थिति बाकलिदै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित मन्दिर समुन्द्र सतहबाट दुई हजार १३४ मिटरको उचाइमा अवस्थित छ ।
गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामनाकी दिदीका रुपमा परापूर्वकालदेखि पुजिँदै आएको छिम्केश्वरीमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वासका कारण यसको गरिमा र महत्व बढाएको छ ।
सात देवीमध्ये जेठी बूढीदेवी, माइली छिम्केश्वरी, साइली गोरखकाली, काँइली मनकामना, अन्तरी इच्छाकामना, जन्तरी अन्नपूर्र्णा र कान्छी अकला माईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । त्यहाँबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, लगायत हिमाल देखिन्छ ।
कोभिडले एक वर्ष सुनसान बनेको छिम्केश्वरीमा पछिल्ला दिनमा भने दर्शनार्थीको बाक्लो उपस्थिति रहने गरेको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए । “अहिले शनिबार र बिदाको दिनमा त दैनिक दुई÷तीन सय जनासम्म भक्तजन आइरहनुभएको छ”, गुरुङले भने, “बाटो पनि सहज भएकाले अन्य दिनमा पनि भक्तजनको उल्लेख्य उपस्थिति छ ।” अहिले चहलपहल ह्वात्तै बढेको वडाध्यक्ष गुरुङले थप्नुे ।
मन्दिरका पुजारी धनराज गुरुङले छिम्केश्वरीमा प्रत्येक वर्षको फागुपूर्णिमा र वैशाख १ गते विशेष मेला लाग्ने बताए। गाउँपालिकाले मन्दिरको पुनः निर्माण पनि गरिरहेको छ । डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनः निर्माणको काम भइरहेको छ । गाउँपालिकाले मन्दिर पुनः निर्माण गर्न गत आर्थिक वर्षमा रु ३० लाख लगानी गरेको थियो भने चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २५ फागुन २०७७, १२ : ५३
लेखकबाट थप