कान्ति राजमार्गमा तत्काल कालोपत्र नहुने

रासस

सोमबार, २४ फागुन २०७७, १४ : ४५
कान्ति राजमार्गमा  तत्काल कालोपत्र नहुने

काठमाडौं । राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि कालोपत्र नगरिने कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ । 

अहिले तत्काल कालोपत्र नगरिने सडकमध्ये धेरै भाग ललितपुर र थोरै भाग मकवानपुरमा पर्छ । उनकाअनुसार यी ठाउँ छपेली र आसपासका क्षेत्रमा रहेका योजनाका सूचना अधिकारी दिपेश रजकले बताए। अहिले तत्काल कालोपत्र नहुने थोरै सडक खण्ड मकवानपुरमा पनि रहेको छ ।

एक किलोमिटर सडक कालोपत्र गर्दा झण्डै रु डेढ करोड लगानी हुने भएकाले त्यो रकम खेर जान नदिन तत्काल कालोपत्र नगर्ने योजना बनाइएको हो । कुनै पनि ठाउँमा सडक खनेपछि केही वर्षसम्म पहिरो जाने गरे पनि केही वर्षपछि त्यहाँको माटो स्थिर भएर रहन्छ । उनले भने , “अबको केही वर्षमा पहिरो जान रोकिएपछि कालोपत्र गर्न सकिन्छ ।”

 

अहिले कालोपत्र नगरिने सडकमा पनि ग्राभेल गरिने भएकाले स्थानीयवासीलाई आवतजावतमा समस्या नहुने योजनाका सूचना अधिकारी रजकले बताए । 

उनका अनुसार त्यो स्थानमा ग्राभेल, सडक छेउमा नाली बनाउनेलगायतका अरु सबै किसिमका काम हुनेछ । यो सडकमा वर्षेनी वर्षाको समयमा सडक माथिबाट आउने पहिराका कारण सडक अवरुद्ध हुने गरेको छ । पहिले एक लेनको सडक दुई लेनको बनाउँदा सडकमा पहिरो आइरहेको हो ।

प्रतिक्रिया दिनुहोस